बाढीले उजाडिएका देवीघाट र उत्तरगयामा एकादशीको दीप प्रज्वलन, श्रद्धालुको उल्लेख्य भीड



नुवाकोट, मङ्सिर ४। तीन महिनाअघि आएको विनाशकारी बाढीले उजाड बनाएका नुवाकोटका देवीघाट, उत्तरगया र बेत्रावतीलगायतका धार्मिक स्थलमा हरिबोधनी एकादशीको अवसरमा श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ।

बाढीले मन्दिर, घाट र धार्मिक संरचनाहरू बगरमा परिणत गरे पनि श्रद्धालुहरूको धार्मिक आस्था र परम्परामा कमी आएको छैन। बिहीबार राति देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिर, उत्तरगयाधाम र बेत्रावतीलगायतका स्थानमा दिवङ्गत पितृहरूको उद्धार, मोक्ष र आत्माको चिरशान्तिको कामना गर्दै हजारौँ भक्तजनले महादीप प्रज्वलन गरेका छन्।

विदुर नगरपालिका–५ स्थित तादी र त्रिशूली नदीको सङ्गमस्थल देवीघाटमा गत वर्षको तुलनामा यस वर्ष बढी तीर्थालु सहभागी भएको जालपादेवी विकास समितिले जनाएको छ। बाढीले क्षति पुर्‍याएको क्षेत्रमै पुगेर भक्तजनले पितृका नाममा दीप प्रज्वलन गर्दै धार्मिक परम्परालाई निरन्तरता दिएका हुन्।

देवीघाट जालपा युवा क्लबका अध्यक्ष नवीन चित्रकारका अनुसार बाढीले धार्मिक स्थल उजाड बनाए पनि हरिबोधनी एकादशीमा पितृको सम्झनामा महादीप प्रज्वलन गर्ने भक्तजनको सहभागिता उल्लेख्य रहेको छ।

त्यस्तै, नुवाकोट र रसुवाको सिमानामा पर्ने विदुर नगरपालिका–१० बेत्रावतीस्थित उत्तरगयाधाममा पनि बिहीबार राति दीप प्रज्वलन गर्ने श्रद्धालुको घुइँचो लागेको थियो। उत्तरगया क्षेत्रमा भक्तजनको सहजताका लागि टेन्ट टाँगेर बत्ती बाल्ने र बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिनुभयो।

गत भदौ १० गतेको विनाशकारी बाढीले देवीघाटस्थित जालपादेवी, गणेश र कृष्ण मन्दिर तथा बेत्रावतीस्थित राम मन्दिरसहित उत्तरगयाधाम क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। धार्मिक स्थलहरू बगरमा परिणत भएपछि यस वर्षको एकादशी मेलामा भक्तजनलाई बस्न र बत्ती बाल्नसमेत कठिनाइ भएको थियो।

अवस्था सहज बनाउन विदुर नगरपालिका र उत्तरगया गाउँपालिकाले टेन्ट तथा त्रिपालको व्यवस्था गरेका थिए। स्थानीय युवा, समाजसेवी र विभिन्न सङ्घसंस्थाले पनि आवश्यक सामग्री सहयोग गरेका छन्। स्थानीय युवा दिलकृष्ण श्रेष्ठले भक्तजनलाई निःशुल्क माटोका दियो वितरण गर्नुभएको छ भने सरिता थापामगर र कोपिला डंगोलले बत्ती बाल्न आवश्यक तेल तथा फलफूलको व्यवस्था गर्नुभएको छ।

त्रिशूली र फलाँखु खोलाको सङ्गमस्थल बेत्रावतीमा पनि दिवङ्गत आमाबुबा तथा आफन्तको नाममा दीप प्रज्वलन गर्दै भक्तजन रातभर जाग्राम बसेका थिए। उत्तरगया क्षेत्रमा हरिबोधनी एकादशी, पौषे औँसी र बालाचतुर्दशीलगायतका अवसरमा विशेष मेला लाग्ने परम्परा छ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीले धार्मिक स्थलमा क्षति पुर्‍याए पनि स्थानीय तह, सङ्घसंस्था र सहयोगी व्यक्तिहरूको सक्रियतामा मेलाका लागि आवश्यक व्यवस्थापन गरिएको बताउनुभयो। धार्मिक संस्कृति र पर्यटनको संरक्षणका लागि नगरपालिका क्रियाशील रहेको उहाँको भनाइ छ।

हरिबोधनी एकादशीका अवसरमा देवीघाट र बेत्रावतीसँगै गणेशस्थान माछापोखरी घाट, समुन्द्रटार घाट, राउतबेसी घाट, शिखरबेसी, दुप्चेश्वर मन्दिरको घाट र तारुका घाटमा समेत मेला तथा फूल तार्ने भक्तजनको भीड लागेको छ।

धार्मिक मान्यताअनुसार हरिबोधनी एकादशीका दिन भगवान् विष्णु क्षीरसागरबाट उठेर वैकुण्ठधाम प्रस्थान गर्ने विश्वास रहेको पुरोहित अनन्तप्रसाद रिजालले बताउनुभयो। यस दिन दिवङ्गत पितृका नाममा दीप प्रज्वलन गर्दा उनीहरूको आत्माले शान्ति र उत्तम लोक प्राप्त गर्ने जनविश्वास रहिआएको छ।

बाढीले भौतिक संरचना र धार्मिक सम्पदामा क्षति पुर्‍याए पनि देवीघाट र उत्तरगयामा यस वर्षको एकादशीमा प्रज्वलित हजारौँ दीपले स्थानीयवासीको आस्था, परम्परा र पुनर्निर्माणको आशालाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्