संसद्का कामकारबाही डिजिटल प्रणालीमा लैजाने अवधारणा तयार



काठमाडौँ, मङ्सिर ४ । सङ्घीय संसद्ले संसद्का कामकारबाही, अभिलेख व्यवस्थापन र निगरानी प्रणालीलाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्टको अवधारणा तयार पारेको छ ।

प्रविधि व्यवस्थापन महाशाखा प्रमुख विशाल सापकोटा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई बुझाइएको छ । डिजिटल प्लेटफर्मको परीक्षण भदौ ३१ गतेदेखि सुरु भइसकेको छ ।

नयाँ प्रणालीमा सांसदको विवरण, विद्युतीय हाजिरी, बैठक व्यवस्थापन, विधेयकको अवस्था, संसदीय समिति, प्रश्नोत्तर तथा निर्णय र अभिलेख डिजिटल रूपमा व्यवस्थापन गरिनेछ । मोबाइल एपमार्फत सांसदलाई आवश्यक कागजात तथा सूचनामा पहुँच दिने योजना पनि छ ।

यसैगरी सचिवालयका कर्मचारीको विवरण, हाजिरी, बिदा, सरुवा र कार्यसम्पादन मूल्याङ्कनसमेत डिजिटल प्रणालीमा समेटिनेछ ।

परियोजनाबाट संसद्का कामकारबाहीलाई छिटो, पारदर्शी र व्यवस्थित बनाउनुका साथै नागरिकको सूचनामा पहुँच विस्तार हुने अपेक्षा गरिएको सङ्घीय संसद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्