सुरक्षण मुद्रण केन्द्रद्वारा बाढीपीडितको राहतका लागि एक करोड पाँच लाख सहयोग



काठमाडौँ, मङ्सिर ४ । सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख रुपियाँ सहयोग गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बिहीबार उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिना, कानुनमन्त्री सोविता गौतमलगायतको उपस्थिति थियो ।

केन्द्रले आफ्नै आम्दानीबाट उक्त रकम जुटाएको जनाएको छ । केन्द्रका अनुसार पछिल्लो एक वर्षमा २७ लाख थान सवारी चालक अनुमतिपत्र छ महिनाभित्र छपाइ गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ ।

यसअघि विदेशमा छपाइ गर्दा ठूलो रकम खर्च हुने गरेकोमा स्वदेशमै छपाइ सुरु भएपछि विदेशी मुद्रा बचत भएको केन्द्रको भनाइ छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकट र नागरिकता प्रमाणपत्रलगायत सुरक्षणयुक्त कागजातसमेत स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको कार्यकारी निर्देशक ढुङ्गानाले जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाले केन्द्रको क्षमता विस्तार तथा आवश्यक पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्