नेपालमा फोक्सोका दीर्घरोगी साढे तीन लाख नजिक, प्रदूषण पनि प्रमुख कारण



काठमाडौँ, मङ्सिर ४ । नेपालमा दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सिओपिडी) का बिरामी बढ्दै गएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर तीन लाख २५ हजार १५३ जना यस रोगबाट प्रभावित छन् । अघिल्लो वर्ष यो सङ्ख्या दुई लाख ५९ हजार ११० थियो ।

विशेषज्ञका अनुसार धूमपानसँगै घरभित्रको धुवाँ, धुलो, अगरबत्ती, दाउरा तथा सवारीसाधन र उद्योगबाट निस्कने प्रदूषण पनि फोक्सोसम्बन्धी रोगका प्रमुख कारण हुन् । धूमपान नगर्ने व्यक्तिमा समेत यस्तो समस्या देखिने गरेको छ ।

लामो समयसम्म खोकी लाग्नु, खकार आउनु, सिँढी चढ्दा स्याँस्याँ हुनु, सास फेर्न गाह्रो हुनु र छाती घ्यारघ्यार गर्नु यसका प्रमुख लक्षण हुन् । ४५ वर्षपछि जोखिम बढ्ने र ५५ वर्षमाथिका व्यक्तिमा अझ बढी देखिने चिकित्सकहरूको भनाइ छ ।

विशेषज्ञले समयमै रोग पहिचान र उपचार गर्न, धूमपान त्याग्न तथा धुलोधुवाँबाट बच्न सुझाव दिएका छन् । रोगले फोक्सोमा पुर्‍याएको क्षति पूर्ण रूपमा निको पार्न कठिन हुने भएकाले नियमित स्वास्थ्य परीक्षण र सावधानी आवश्यक रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्