सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपिएल च्याम्पियन
काठमाडौं,मंसिर ६ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि पहिलो पटक जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
लगातार तेस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसपटक उपाधि उचाल्न सफल भएको हो । उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाएको छ ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो । सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले अविजित १२५ रनको शतकीय पारी खेले । उनले ५४ बलमा १२ छक्का र आठ चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अलि शेखले २४ र डार्सी शर्टले २१ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक–एक विकेट लिए ।

