बाढीमा अभिभावक गुमाएका नुवाकोट र रसुवाका ९९ विद्यार्थीलाई चिनियाँ राजदुतद्वारा छात्रवृत्ति प्रदान
नुवाकोट,मंसिर ६ । ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोसी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका नुवाकोट र रसुवाका ९९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। अध्ययनलाई निरन्तरता दिन प्रतिविद्यार्थी २० हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराइएको हो।
विदुर नगरपालिका–५ पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासको आयोजनामा छात्रवृत्ति वितरण गरिएको हो। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए।
कार्यक्रममा राजदूत झाङले विपद्का साथै अन्य समयमा पनि चीनले नेपालको शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको बताए। नेपालसँगको सामाजिक सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ थियो।
सो अवसरमा राजदूत झाङले विद्यालयको प्रशासनिक भवन, कक्षाकोठा, खेलमैदान तथा चमेनागृहको अवलोकन गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
विद्यालयलाई प्रविधिमैत्री बनाउन १० थान स्मार्ट बोर्ड उपलब्ध गराउने तथा भवन निर्माण र मर्मतलगायतका काममा सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेको विद्यालयले जनाएको छ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

