परराष्ट्रमन्त्री खनाल र जापानी उपमन्त्री फुजीबीच शिष्टाचार भेटवार्ता



काठमाडौं,मंसिर ६ । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा शनिबार भएको भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहनुभएका जापानी उपमन्त्री फुजीलाई स्वागत गर्दै हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएकोमा जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा पुनःनिर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकोमा धन्यवाद दिनुभयो ।

जापानी उपमन्त्री फुजी नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल–जापान महोत्सवमा सहभागी हुन दुईदिने नेपाल भ्रमणमा आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्