बाढीले उजाडिएको देवीघाटमा पनि आस्थाको उज्यालो, एकादशी मेलामा १० हजारभन्दा बढीले बाले महादीप



नुवाकोट,मंसिर ६। तीन महिनाअघि ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले उजाड बनाएको नुवाकोटको देवीघाटमा यस वर्ष हरिबोधनी एकादशीको अवसरमा हजारौँ भक्तजनले महादीप प्रज्वलन गरेका छन् । प्राकृतिक विपत्तिले मन्दिर र धार्मिक क्षेत्र क्षतविक्षत बनाए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक आस्था र परम्परा भने कमजोर हुन सकेन ।

विदुर नगरपालिका–५ स्थित तादी र त्रिशूली नदीको संगमस्थल देवीघाट, प्रसिद्ध जालपादेवी मन्दिर तथा उत्तरगयाधाममा बिहीबार रातिदेखि नै भक्तजनको घुइँचो लागेको थियो । गत वर्षको तुलनामा यस वर्ष एकादशी मेला भर्न आउने तीर्थालुको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको आयोजकले जनाएको छ ।

जालपा क्षेत्र विकास समितिका उपाध्यक्ष नवीन चित्रकारका अनुसार यस वर्ष देवीघाटस्थित जालपादेवी मन्दिरमा मात्रै १० हजारभन्दा बढी भक्तजनले आफ्ना दिवंगत पितृको मोक्षको कामना गर्दै महादीप प्रज्वलन गरेका छन् । बाढीले क्षतविक्षत बनाएको मन्दिर क्षेत्र र नदी किनारमा पुगेर भक्तजनले रातभर जाग्राम बसी दीप प्रज्वलन गरेका थिए ।

बिहीबार रातभर बालिएका महादीप पुरोहितद्वारा मन्त्रोच्चारणसहित शुक्रबार बिहान त्रिशूली नदीमा विसर्जन गरिएको थियो । भक्तजनले जालपादेवी मन्दिरमा तुलसी पूजा, स्नान, दान तथा पूजापाठ गर्नुका साथै फूलको डोली र तोरण नदी वारपार गराएका थिए ।

यस वर्ष जालपादेवी मन्दिरमा छ वटा फूलको डोरी टाँगिनुका साथै मन्दिरलाई २५ फन्को फूलको मालाले सजाइएको थियो । बाढीका कारण धार्मिक क्षेत्र नै खण्डहर बनेको अवस्थामा पनि भक्तजनको सहभागिता बढ्नुले धार्मिक आस्था र परम्परा विपत्तिका कारण कमजोर नहुने सन्देश दिएको समितिका अध्यक्ष भरतकाजी चित्रकारले बताउनुभयो ।

स्थानीयवासी कृष्णबहादुर कोइरालाका अनुसार जालपादेवी मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीका अवसरमा दिवंगत पितृको उद्धार तथा मोक्षको कामना गर्दै हजारौँ भक्तजनले महादीप बाल्ने परम्परा रहिआएको छ । यस वर्ष बाढीको पीडाका बीच पनि गत वर्षभन्दा धेरै भक्तजनले दीप प्रज्वलन गरेका छन् ।

पुरोहित अनन्तप्रसाद रिजालका अनुसार कार्तिक शुक्ल एकादशीलाई वर्षभरिका २४ एकादशीमध्ये सबैभन्दा ठूलो एकादशीका रूपमा लिने गरिन्छ । यस दिन भगवान् विष्णुको पूजा, व्रत, स्नान र दान गरेमा पुण्य प्राप्त हुने तथा दिवंगत पितृको मोक्ष हुने धार्मिक विश्वास छ । एकादशीमा बालिएको दीप द्वादशीका दिन नदीमा विसर्जन गरी तुलसीको पूजा गरेपछि धार्मिक विधि पूरा हुने परम्परा छ ।

एकादशी मेलामा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा पनि विशेष मेला लागेको थियो । त्यस्तै तारुकाको तारकेश्वर, पञ्चकन्याको कविलास, गेर्खुको बेत्रावती, सुन्दरा देवी, गणेशस्थान, थानसिङ, राउतबेसी, समुन्द्रटार, शिखरबेसी र दुप्चेश्वरलगायतका धार्मिक स्थल तथा नदी घाटमा पनि भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।

स्थानीयवासी राजकुमार गजुरेलले बाढीका कारण यस वर्ष मेलामा भक्तजनको उपस्थिति कम हुने अनुमान गरिए पनि उत्साहजनक सहभागिता रहेको बताउनुभयो । प्राकृतिक विपत्तिले भौतिक संरचनामा क्षति पुर्‍याए पनि धार्मिक आस्था र विश्वासलाई कमजोर बनाउन नसकेको उहाँको भनाइ छ ।

त्यस्तै स्थानीयवासी तोयानाथ पुडासैनीले पुस्तौँदेखि चल्दै आएको धार्मिक परम्परालाई विपत्तिले रोक्न नसकेको बताउनुभयो । वडा सदस्य विनोद चित्रकारले पनि देवीघाटमा भक्तजनको उपस्थितिले आस्था अटल र परम्परा जीवन्त रहेको सन्देश दिएको बताउनुभयो ।

बाढीले उजाडिएको देवीघाट र उत्तरगयाधाममा पुनर्निर्माणको प्रतीक्षाबीच हजारौँ भक्तजनले रातभर दीप प्रज्वलन गरी आफ्ना पितृको चिरशान्ति, वैकुण्ठवास तथा परिवारको सुख, शान्तिको कामना गरेका छन् । यस वर्षको एकादशी मेलाले विपत्तिपछि पनि देवीघाटको धार्मिक महत्त्व र सांस्कृतिक परम्परा जीवन्त रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्