कांग्रेस सभापति गगन थापा आज नुवाकोटको बाढी प्रभावित क्षेत्रमा आउँदै
नुवाकोट,मंसिर ६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आइतबार नुवाकोट, रसुवा र धादिङका बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा आउनुहुने भएको छ।
भोटेकोसी बाढीबाट प्रभावित नागरिकको अवस्था बुझ्न तथा उनीहरूले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिन सभापति थापा प्रभावित जिल्लाको भ्रमणमा आउन लाग्नुभएको हो।
उहाँ आज बिहान ६ बजे काठमाडौँबाट प्रभावित जिल्लाको भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भ्रमणका क्रममा बाढी प्रभावित नागरिकसँग भेटघाट गर्नुका साथै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम रहेको छ।
भ्रमणमा बाढीबाट भएको क्षति, प्रभावितको पुनर्स्थापना, पुनर्निर्माण तथा राहतका विषयमा जानकारी लिने बताइएको छ।

