पाकिस्तान ‘ए’ सँग नेपाल ९६ रनले पराजित, ७२ रनमै समेटियो



काठमाडौं,मंसिर ९ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएको छ। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान ‘ए’ लाई १६८ रनमा समेटे पनि ब्याटिङमा कमजोर प्रदर्शन गर्दा नेपाल ७२ रनमै अलआउट भयो।

कतारको दोहामा १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा सबै विकेट गुमाएर ७२ रनमा समेटिएको हो। नेपालका ६ जना ब्याटरले खाता खोल्न सकेनन्।

नेपालका लागि ओपनर मायन यादवले सर्वाधिक ४१ रन बनाए। उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै, बशीर अहमदले ११, देव खनालले ८ र कुशल भुर्तेलले १ रन बनाए। अभिषेक गौतम १ रनमा अविजित रहे।

नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा पाकिस्तान ‘ए’ का मोहम्मद हसनैन र सुफियान मुकिमले समान ३ विकेट लिए। मोहम्मद इमरानले २ तथा माज सदाकतले १ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। एक समय ८८ रनमा ७ विकेट गुमाएर सङ्घर्ष गरिरहेको पाकिस्तानलाई रोहेल नजीरले अविजित ६४ रन बनाउँदै सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए। उनले ८३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

नजीरले आठौँ विकेटका लागि अहमद दानियलसँग ७० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। दानियलले १६ रन बनाए। यस्तै, हसन नवाजले २८, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समदले समान १३ रन जोडे।

नेपालका लागि बलिङमा रसिद खानले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए। अभिषेक गौतमले २ तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट हात पारे पनि नेपालको जितका लागि पर्याप्त हुन सकेन।

प्रतिक्रिया दिनुहोस्