कांग्रेसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्छौँ : सभापति थापा



काठमाडौँ,मंसिर ९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेकाले सोहीअनुसार नीति, विचार र कार्यदिशा निर्धारण गरिने बताउनुभयो ।

उहाँले विगतको गौरवशाली इतिहासबाट प्रेरणा लिँदै नयाँ इतिहास निर्माण गर्ने सङ्कल्पका साथ कांग्रेस अघि बढ्ने उल्लेख गर्नुभयो । राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै उहाँले त्यसको समीक्षा गरी स्पष्ट नीति तथा कार्यक्रममार्फत जनताको विश्वास जित्नुपर्ने बताउनुभयो । २०६२/६३ को जनआन्दोलनपछिका २० वर्षको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै संविधान निर्माणपछि जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा राजनीतिक दलहरू चुकेको उहाँले टिप्पणी गर्नुभयो ।

सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय निर्वाचनमा प्राप्त गरेको जनादेशलाई सम्मान गर्दै पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्ने धारणा राख्नुभयो । कांग्रेसले प्रमुख प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने भन्दै सरकारका राम्रा काममा सहयोग गर्ने र कमजोरीमा प्रश्न उठाउँदै आवश्यकताअनुसार खबरदारी तथा प्रतिरोध गर्ने उहाँले बताउनुभयो ।

पार्टी विधान कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै सभापति थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलको सदस्यता लिने जनप्रतिनिधिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो । राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को दलको सदस्यता लिनेहरूलाई विधानअनुसार कारबाही गरिने उहाँको भनाइ थियो ।

उहाँले आगामी पुस १५ गतेभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिनुभयो । बैठकमा स्थानीय तह निर्वाचनको प्रारम्भिक तयारी र पार्टीको आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्