सुनको भाउ फेरि बढ्यो, तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँ
काठमाडौं,मंसिर १० । बुधबार एकैदिन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य २ लाख ४१ हजार ४ सय रुपैयाँमा झरेको थियो ।
यसअघि सोमबार र मंगलबार लगातार दुई दिनमा सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो । गत कात्तिक २३ गतेदेखि एक सातासम्म निरन्तर घटेको सुनको मूल्य ४१ हजार ७ सय रुपैयाँले सस्तिएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ पुगेको छ ।
गत माघ १५ गते सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । त्यसयता झण्डै १० महिनाको अवधिमा सुनको भाउ ९६ हजार ७ सय रुपैयाँले घटिसकेको छ ।
त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य पनि हालसम्मकै उच्च तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो । माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो गिरावट हो ।

