विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झर्‍यो



काठमाडौं,मंसिर १० । आर्थिक वर्ष २०८२/८३ मा नेपालको विद्युत् चुहावट घटेर १२ दशमलव १६ प्रतिशतमा झरेको छ। यो सरकारले निर्धारण गरेको १२ दशमलव २० प्रतिशतको लक्ष्यभन्दा कम हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विद्युत् चुहावट १२ दशमलव २६ प्रतिशत रहेको थियो। यस वर्ष भने चुहावट ० दशमलव १० प्रतिशत बिन्दुले घटेको हो।

विद्युत् चुहावट नियन्त्रणका लागि मन्त्री श्रेष्ठले नीतिगत तथा संरचनागत सुधारमा पहल गर्नुभएको सचिवालयले जनाएको छ। विद्युत् सञ्जालको स्तरोन्नति, समयमै मर्मतसम्भार तथा प्राविधिक समस्याको तत्काल समाधानलाई प्राथमिकता दिइएको मन्त्रालयको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा भार व्यवस्थापनसम्बन्धी समस्याका कारण चुहावट हुने गरेको छ। पछिल्लो समय प्राविधिक समस्या देखिनासाथ तत्काल समाधान गर्ने कार्यले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको छ।

अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३ दशमलव ८ प्रतिशत रहेको छ। यस आधारमा नेपालको विद्युत् चुहावट क्षेत्रीय औसतभन्दा कम देखिएको छ।

प्रतिक्रिया दिनुहोस्