हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको परियोजना सञ्चालन हुँदै
काठमाडौं,मंसिर १०। हिमताल विस्फोटजन्य बाढीको जोखिम न्यूनीकरण तथा हिमाली समुदायको संरक्षणका लागि ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जीवनी परियोजना’ सञ्चालन हुने भएको छ।
सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने परियोजनाबाट प्रत्यक्ष रूपमा तीन लाख ८५ हजारभन्दा बढी र अप्रत्यक्ष रूपमा करिब २० लाख मानिस लाभान्वित हुने जनाइएको छ।
परियोजनाअन्तर्गत उच्च हिमाली क्षेत्रका चार हिमतालको पानीको सतह घटाइनेछ। डोना, लुम्दिङ छ्यो र तल्लो बरुण हिमतालको पानीको सतह तीन–तीन मिटर तथा हङ्गु–२ हिमतालको एक मिटर घटाउने योजना छ।
त्यसैगरी, जलवायु तथा मौसम अनुगमन प्रणाली विस्तार, पूर्वसूचना प्रणाली सुदृढीकरण र तल्लो तटीय क्षेत्रमा बाढी जोखिम न्यूनीकरणका लागि सुरक्षात्मक पूर्वाधार निर्माण गरिनेछ।
परियोजनाका लागि हरित जलवायु कोषबाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान, नेपाल सरकारबाट ११.३२ मिलियन, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबाट २.१४ मिलियन र निजी क्षेत्रबाट ०.३२ मिलियन अमेरिकी डलर योगदान प्राप्त हुनेछ।

