नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो
काठमाडौं,मंसिर १०। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ०८ प्रतिशत हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ। सरकारको वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख र आन्तरिक ऋण १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा कात्तिक मसान्तसम्म एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो।
यस अवधिमा आन्तरिक ऋणतर्फ ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋणतर्फ ११ दशमलव ६२ प्रतिशत लक्ष्य पूरा भएको छ।
त्यस्तै, सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विनियोजन गरेको चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँमध्ये कात्तिक मसान्तसम्म एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ। यो वार्षिक बजेटको ३३ दशमलव ७३ प्रतिशत हो।
ऋण भुक्तानीमध्ये आन्तरिक ऋणतर्फ एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋणतर्फ २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

