नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित



काठमाडौं,मंसिर १०। नेपालको आर्थिक वृद्धिदर घटेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर चार दशमलव ४३ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर घटेको हो।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ। औद्योगिक क्षेत्रको अवस्था पनि कमजोर देखिएको छ। अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ।

यद्यपि, सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या शून्य दशमलव ९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ।

यसैगरी, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव ७२ प्रतिशत र कर्जा प्रवाह छ दशमलव ५५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक व्यापारतर्फ कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, आयात १६ दशमलव २० प्रतिशतले वृद्धि भई २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेकाले नेपालको व्यापार असन्तुलनको चुनौती कायमै रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्