नागरिक लगानी कोषको पहुँच विस्तार योजना १० दिनभित्र पेस गर्न निर्देशन



काठमाडौँ,मंसिर ११ । नागरिक लगानी कोषमा सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना र भावी कार्यदिशासहितको विस्तृत प्रतिवेदन १० दिनभित्र पेस गर्न अर्थ समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार बसेको बैठकले कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई यस्तो निर्देशन दिएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो ।

सभापति बुढाथोकीले नागरिक लगानी कोष भनिए पनि सर्वसाधारणको पहुँच विस्तार हुन नसकेको विषय उठिरहेको भन्दै बैठकमा उठेका विषय र कार्यसूची समेटेर बृहत् प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा सांसदहरूले कोषको लगानी क्षेत्र सीमित रहेको भन्दै ठूला पूर्वाधार तथा उत्पादनमूलक परियोजनामा लगानी विस्तार गर्न सुझाव दिनुभएको थियो । उहाँहरूले दीर्घकालीन परियोजनामा कोषको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैबीच, कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ । कार्यकारी निर्देशक कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्