डिपिआर बनेको चार वर्ष बित्दा पनि कोरलानाकामा पूर्वाधार निर्माण सुरु भएन



मुस्ताङ,मंसिर १३ । नेपाल–चीन उत्तरी कोरलानाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।

विसं २०७९ फागुनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्ट निर्माणका लागि सरकारले डिपिआर तयार गरेको थियो । त्यसका लागि नेपालतर्फ करिब एक हजार रोपनी जग्गासमेत प्राप्ति गरिएको थियो । सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँ लागतमा डिपिआर तयार गरी सरकारलाई बुझाएको थियो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि निर्माण सुरु नहुनु दुःखद् भएको बताउनुभयो । उहाँले कोरलानाकालाई व्यवस्थित व्यापारिक तथा पारवहन नाकाका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

पछिल्लो समय कोरलानाकाबाट व्यापारिक गतिविधि बढ्दै गएको छ । गत वर्ष यस नाकाबाट छ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो भने चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ । हाल दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब एक सय विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन् ।

तर, सुक्खा बन्दरगाह र आवश्यक पार्किङस्थल नहुँदा कन्टेनर सडकका तीन लेनसम्म रोक्नुपर्ने अवस्था छ । विद्युतीय गाडीसमेत खोला किनार र भिरको छेउमा राख्नुपर्ने बाध्यता रहेको आयातकर्ता कम्पनीका प्रतिनिधि धर्मवीर मण्डलले बताउनुभयो । चार्जिङ स्टेसनको अभावले पनि समस्या थपिएको उहाँको भनाइ छ ।

तातोपानी र रसुवागढी नाका बन्द रहेको अवस्थामा कोरलानाकामा व्यापारिक चहलपहल बढे पनि पूर्वाधार अभावले सवारी व्यवस्थापन तथा व्यापार सञ्चालनमा कठिनाइ भइरहेको छ । बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन् ।

यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिन आग्रह गरेका थिए । समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले नाकाको पूर्वाधार र पहुँचमार्गको सडक सुधार गर्न माग गरेका थिए ।

यसअघि विसं २०७५ मै लोमान्थाङ–४ न्हेचुङ क्षेत्रमा सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो । भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमनका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा छुट्याइएको थियो ।

उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । तर, भन्सार र अध्यागमन कार्यालयका भवन अझै निर्माण हुन सकेका छैनन् । भन्सार कार्यालयको स्तरोन्नति भने आंशिक रूपमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्