लकडाउनमा पारिवारिक तथा राष्ट्रिय जिम्मेवारी पुरा गरौं-तेज बहादुर तामाङ,अध्यक्ष:पञ्चकन्या गाउँपालिका,नुवाकोट



अहिले विश्वभरी कोरोना भाइरसको त्रास छ।सबै राष्ट्रले भाइरसको उच्च जोखिमबाट जोगिन तथा संक्रमण न्यूनीकरणका निम्ति अनेक उपाय अपनाइएका छन। नेपाल लगायत धेरैजसो मुलुक अहिले लकडाउन अवस्थामा गुज्रिएको छ।नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँपालिकामा पनि भाइरस संक्रमणबाट बच्न र बचाउन स्थानीय जनप्रतिनिधिहरु समेत दिलोज्यानले लागि परेका छन।यसै सन्दर्भमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङसंग कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले के कस्ता सावधानी अपनाई रहेको छ त? यस बिषयमा साझापथ डटकमका सम्पादक भरतसन्तोषीले गाउँपालिकाका अध्यक्ष तामाङसंग गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिन्छ:-

• लकडाउन अवधि कसरी बित्दैछ?

लकडाउनको समयमा गाउँपालिकामा बस्ने साथसाथै आफ्नो गाउँपालिका भित्र के कस्ता गतिविधि भैरहेको छ त्यसको अनुगमन गर्ने,गाउँपालिकाका वडाअध्यक्ष तथा जनप्रतिनिधिहरुसंग सम्पर्क गर्ने जस्ता काम गरेर दिन बितिरहेको छ।

• पञ्चकन्या गाउँपालिकाको स्थानीय जनप्रतिनिधि प्रमुखको हैसियतले कोरोना रोकथाम तथा यस विरुद्धको तयारी के कस्तो छ?

कोरोना भाइरस अहिले संसारभर फैलिरहेको महामारी रोग हो।यस सन्दर्भमा पञ्चकन्या गाउँपालिकाले विगतमा जिल्लाकै सबै तहमध्ये हामीले सर्वप्रथम कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्क मार्फत परीक्षण गरेर मात्रै गाउँपालिका भित्र गराएका थियौं। जतिबेला अन्य गाउँपालिका तथा नगरपालिकाले यसको सुरुवात गरेका थिएनन् । हेल्थ डेस्क सचेतनाका साथै यस नोबेल कोरोना भाइरसबाट के कसरी बच्ने बिषयमा गाउँपालिकामा हामीले जनचेतनामूलक कामहरु पनि गर्यौ। त्यसका लागि प्रचारप्रसारका साथै घर-घरमा टास्ने स्टिकर समेत तयार गर्यौ,हरेक घरको ढोका-धारामा सचेतना सन्देशयुक्त पोस्टर,स्टिकर टासेर आवश्यक सूचना प्रदान गर्यौ।त्यससंगै आवश्यक औसधि खरिद,क्वारेन्टाइनको प्रबन्ध लगायतका कामहरू गर्यौ।कतिपय औसधि तथा स्वास्थ्य सामग्री विदेशबाट ल्याउनु पर्ने भएकाले केहि समय लाग्यो तर हामीले गाउँपालिकाको क्षमता र हैसियतले भ्याउन्जेल यसको तयारी गरेका छौ।र पछिल्लो समय नेपाल सरकारले जो जहाँ छ त्यहाँ बस्ने र कोहि नेपाली भोकै बस्न नपरोस् भनेर राहतको व्यवस्थापन गर्ने काम गरेका छौं र गाउँपालिका भित्रका असंगठित श्रमिक र भुमिहिनलाई बिशेष राहत समेत प्रदान गरेका छौं।

• राहत सामग्रीको वितरणकै कुरा गर्दा सरकारले ल्याएको एकद्वार प्रणाली अनुरुप भित्रिएका राहत सामग्री वितरण भएका छन् या छैनन् ?

अहिलेसम्म गाउँपालिकामा आफुखुशी कुनै ब्यक्ति वा संघ संस्थाले वितरण गरेको अवस्था छैन । यो एकद्वार प्रणालीलाई नै अपनाएर राहत सामग्री वितरण गरिरहेका छौँ।गाउँपालिकालाई धेरैले सहयोग पनि गरिरहनु भएको छ।त्यस्ता सहयोग गर्न चाहाने महानुभावलाई सिधै गाउँपालिकाको कार्यलयमा उपस्थित गराएर सामग्रीहरु लिने गरेका छौं र गाउँपालिकालाई कुन ठाउँमा कस्तो सहयोगको खाचो छ त्यस अनुरुप सामग्री वितरण गाउँपालिकाले गर्ने गरेको छ।

• पीडित समुदायसम्म राहत सामग्री के-कति पुगेको महसुस गर्नुभएको छ?वडा प्रतिनिधिहरुको सुझाव के कस्तो हुन्छ तपाईंलाई?

अहिलेसम्म पञ्चकन्यामा राहत सामग्री नपुगेको भन्ने छैन।एकाध त्यस्ता मजदुरहरु गाउँपालिका क्षेत्रमा थिए।हामीले उनीहरुको पहिचान गरि राहत सामग्री वितरण गरिसकेका छौं।र हामीले भन्ने गरेका छौ पञ्चकन्यामा त्यति ठुलो समस्या छैन।र छैन भन्दाभन्दै १ महिना बढी लकडाउन अवधि भैसकेको छ।यसैगरी लम्बिदै जादा पञ्चकन्यामा पनि पीडित समुदाय खडा नहोला भन्न सकिन्न।तर पञ्चकन्यामा खानाकै लागि समस्या हुन्छ भन्ने मलाई लाग्दैन।बाहिरी क्षेत्रबाट आएका मजदुरमा समस्या हुनसक्छन्।किनकि हाम्रो गाउँपालिका क्षेत्रमा हाइड्रोपावर लगायतका काम हुने ठाउँ छ।इट्टाभट्टाहरु छन्।जाइकाद्वारा निर्मित विद्यालय भवनहरु बाहिरी मजदुरद्वारा निर्माण हुदैछन।त्यस्ता मजदुरको पहिचान गरी राहत सामग्री वितरण गरिसकेका छौं र कस्लाई राहत वितरण गर्नुपर्ने हो र कस्ले पाउनुपर्ने हो त्यस्ता ब्यक्तिको पहिचान भैसकेको छ।पालिका भित्र वितरण गरिएको राहत सामग्री न्यायोचित ढङ्गबाट भएको मलाई लाग्छ।

काठमाडौ लगायत अन्य जिल्लाबाट यहाँ स्थायी घर भएका महानुभावहरु गाउँ आएर भोजभतेर गर्ने ,पोट खेल्ने,तास खेल्ने लगायतका काम नगर्न हामीले सम्झाईरहेका छौ।लकडाउन भनेकै जो जहाँ छ त्यो त्यही बस्ने भनिएको हो।र लकडाउनमा घरमै बसेर पारिवारिक तथा राष्ट्रिय जिम्मेवारी पुरा गर्नुहोस् भनेर भनिरहेका छौँ।

• पञ्चकन्या गाउँपालिकाकै कुरा गर्दा यहाँ क्वारेन्टाइन कक्ष तथा स्वास्थ्य सामग्री प्रयाप्त छन कि छैनन् ?

पञ्चकन्या गाउँपालिका लिखु र तादी खोलाको बिचमा अवस्थित डाडो हो।गाउँपालिकाको भौगोलिक अवस्थाको असहजताको बाबजुद गाउँपालिका भित्र १६ बेडको क्वारेन्टाइन कक्ष हामीले निर्माण गरेका छौं।त्यसका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद पनि गरिसकेका छौं।त्यससगै स्वास्थ्य क्षेत्रमा आवश्यक अन्य सामग्रीहरुको माग पनि गरिसकेका छौं।हुन त पञ्चकन्यामा मात्रै नभई राष्ट्र त अन्तर्राष्ट्रिय क्षेत्रमै यस्को निर्मुल होस यहि कामना गर्दछु।तर पनि भोलि समस्या आईहालेको खण्डमा हामी के गर्ने भन्ने विषयमा पनि सजग रहनुपर्छ।त्यसबेला पछुताउनु भन्दा अहिलेको सजगता नै उत्तम हुन्छ।यसर्थ हामीले एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौ।चालकलाई सुरक्षीत राख्न पिपिईको ब्यवस्था पनि गरेका छौं।स्वास्थ्यकर्मी साथीहरूलाई पिपिई ब्यवस्थापन गरिसकेका छौ।स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक पोशाक तथा सुरक्षा सामग्री समेत तयारी राखेका छौ।

• बाहिरी क्षेत्रबाट गाउँपालिका प्रवेश गर्ने स्थानीय समेत सामुहिक क्रियाकलापमा अभ्यस्त छन भन्ने सुन्नमा आएको छ।यसबारे गाउँपालिकाको सचेतना कार्यक्रम के कस्ता छन्?

यो समस्या ठुलै हो भन्ने लाग्छ।हामीलाई राम्रोसँग थाहा गाउँपालिकामा प्रहरी कार्यलय छ।सुरक्षाका निम्ति सुरक्षाकर्मी साथीहरू हुनुहुन्छ।तर प्रयाप्त दरबन्दीको भने अभावै छ।त्यसकारण थोरै संख्यामा उहाँहरु भएपनि सुरक्षाका निम्ति खटिईरहनुभएको छ।स्वास्थ्यकर्मी र हामी जनप्रतिनिधि हरेक वडा क्षेत्रमा खटिईरहेका छौ।र काठमाडौ लगायत अन्य जिल्लाबाट यहाँ स्थायी घर भएका महानुभावहरु गाउँ आएर भोजभतेर गर्ने ,पोट खेल्ने,तास खेल्ने लगायतका काम नगर्न हामीले सम्झाईरहेका छौ।लकडाउन भनेकै जो जहाँ छ त्यो त्यही बस्ने भनिएको हो।र लकडाउनमा घरमै बसेर पारिवारिक तथा राष्ट्रिय जिम्मेवारी पुरा गर्नुहोस् भनेर भनिरहेका छौँ।सुरक्षाकर्मी साथीहरू पनि कमै सुत्नुहुन्छ।थोरै संख्यामा भएपनि धेरै ठाउँमा दौडिरहनुभएको छ।जो बुझ्नुहुन्न ती नागरिकलाई सम्झाउने काम गरिरहेका छौँ।

• अन्त्यमा के भन्न चाहानुहुन्छ?

सम्पुर्ण पञ्चकन्यावासी लगायत सबैलाई यो बिपदको घडीमा नआत्तिन अनुरोध गर्दछु।म तपाईंको साथैमा छु भन्न चाहान्छु।मेरो तर्फबाट,गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सबै काम गर्न तत्पर छौ।हामी सबै एक भएर लडेको खण्डमा मात्रै कोरोनालाई परास्त गर्न सक्छौ।त्यसैले नेपाल सरकारले लागू गरेको लकडाउनलाई पुर्ण पालना गर्नु सहयोग गर्नुस् ,आफू पनि बाचौ अरुलाई पनि बचाउन सहयोग गर्नुस् ।अशल नागरिकको परिचय दिनुहोस् भन्न चाहान्छु।

प्रतिक्रिया दिनुहोस्