गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक, प्रशासन र समुदायबीचको सहकार्य अपरिहार्य छन्- मोहन बिष्ट



मोहन विष्ट डडेल्धुराको नवगी क्षेत्रका एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। उहाँले एल.एल.वि., नेपाली राजनीतिशास्त्रमा स्नातकोत्तर (एम.ए.), सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एम.पि.ए.) तथा दर्शनाचार्य (एम.फिल) हासिल गर्नुभएको छ भने हाल समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ। शिक्षा, कानून, राजनीति, दर्शन र समाजशास्त्रप्रतिको गहिरो रुचिका साथ उहाँ लामो समयदेखि नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर -८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयमा शिक्षण गर्दै आउनुभएको छ। शिक्षण पेशासँगै कला र बौद्धिक गतिविधिमा समेत रुचि राख्ने उहाँ समाजमा ज्ञान, चेतना र सकारात्मक परिवर्तनका लागि निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ। प्रस्तुत छ साझापथ डटकमका लागि भरत तामाङले बौद्धिक व्यक्तितब बिष्टसग गरेको कुराकानीको प्रमुख अंश:-

• शिक्षण पेशा कस्तो लाग्दै छ ?
हरेक कुरा आनन्द र सजलोसँग जोडिन्न । आनन्द र सजिलो नहुँदा पनि कर्म गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले यो पेशालाई मैले त्यही रुपमा हेरेको छु ।

• पछिल्लो समय तपाईंको विद्यालयको नजिता राम्रो देखिएको छ के गर्नुपर्दोरहेछ सुधारको लागि ?
विद्यालय शिक्षक, विद्यार्थी र अभिभावको त्रिवेणी हो । यसमा सबैको उत्तिकै भूमिका रहन्छ । अझ अहिले त स्थानीय सरकार र वि.व्य.स. र अन्य शिक्षाप्रेमीहरुको पनि साथ र सहयोग रहन्छ । सिकाइको लागि परिवेशको अनुकूलन मुख्य कुरा हो । जब विद्यालयको प्रशासनिक र कक्षाकोठाको समग्र परिवेश तथा वातावरण अनुकूलन हुन्छ तब सिकाइ गुणस्तरीय र अब्बल हुन्छ । शिक्षकलाई शिक्षण गरुँ गरुँ लाग्ने र विद्यार्थीलाई पढुँपढुँ लाग्ने वातावरण बनाउन सकियो भने सिकाइ अवश्य सुधार हुन्छ ।

• तपाईंको विषय नेपाली, तपाईको भाषिक प्रयोग क्षमता पनि उत्कृष्ट रहेछ विद्यार्थीमा यसको प्रभाव कत्तिको परेको छ होला ?
विद्यार्थीको सिकाइमा प्रभाव पर्ने भनेकै शिक्षकको हो । विद्यार्थीले शिक्षकको हरेक कुरालाई चासोका साथ हेरेको, बुझेको र ग्रहण गरेको हुन्छ । मलाई लाग्छ सबैमा त होइन केही विद्यार्थीहरुमा यसको प्रभाव रहन्छ । हेर्नुहोस् म हत्तामा कम्तिमा एक पुस्तक अध्ययन गर्छु । मलाई एक दिन एक जना व्यक्तिले खाजा खाँदा भनेको थियो शिक्षककहरु अध्ययन गर्दैनन्, विद्यार्थीहरुले के सिक्छन् हो हिजोको शिक्षा आज पुरानो भैरहेको छ हामी त्यही पुरानै शिक्षाको आडमा शिक्षण गरिराखेका छौँ । यसो सर्वेक्षण गर्ने हो भने पढाउने कुरामा बाहेक अरु सबै पक्षमा शिक्षकभन्दा आजको विद्यार्थी सक्षम छ जस्तो लाग्छ । त्यसैले अध्ययन आवश्यक हो शिक्षकको लागि । हामी कहिल्यै किताब नपल्टाउने, अब त हाम्रो भाषा पनि बुभ्mदैन विद्यार्थीहरुले । समय त्यसरी परिवर्तन भैरहेको छ ।

• विद्यार्थीलाई पढुँपढुँ लाग्ने वातावरण त भन्नुभयो, पुस्तक पढनुको फाइदा पनि भन्दिनुहोस् न ।
पुस्तक शून्यमा लेखिँदैन । एउटा लेखकले एउटा पुस्तक लेख्नको लागि अथाह मेहिनेत र धेरै अध्ययन गरेको हुन्छ । वर्षौ समय खर्चेको हुन्छ । हामीले त्यो पुस्तकको ज्ञान केही पैसा र केही घन्टामा लिन सक्छौँ । अनि भन्नुुहोस् कसैले वर्षै लगाएर प्राप्त गरेको ज्ञान केही घन्टामा प्राप्त हुन्छ भने पुस्तक किन नपढ्ने विडिम्वना हाम्रोमा पठन संस्कार खस्किँदो छ । म मेरा विद्यार्थीहरुलाई यही कुरा भन्ने गर्छु र मैले पढेका पुस्तकहरु पढ्न चाहनेलाई पढ्न दिन्छु र पढेपछि सोध्ने गर्छु ।

• तपाईं अध्यापनरत विद्यालयमा नेपाली भाषाको अवस्था कस्तो छ ?
राम्रो पश्न गर्नुभयो, समग्रमा हेर्ने हो भने नेपाली भाषाको अवस्था जस्तो हुनुपर्ने हो त्यो नभएको देख्छु म । यसका विविध कारणहरु छन् । पृथक पृथक भाषिक पृष्ठभूमि एउटा हो, अर्को मुख्य कारण अंग्रेजी भाषाको अतिक्रमण हो, जस्तैः हामी सामाजिक सञ्जाल लगायतका विविध डिाभाइसहरुमा पनि रोमनाइज गरेर काम चलाउँछौँ तर नेपाली प्रयोग गदैनौँ ।

• तपाई त विभिन्न पुस्तक लेख्नुहुन्छ विद्यार्थीहरुलाई अनुभाव र ज्ञान सेयर हुँदैन ?
हुन्छ नि किन नहुनु । मैले विद्यालय स्तरका सहायक सामग्रीहरु लेख्नै भनेको विद्यार्थीहरुलाई पढाउँदाका अनुभव सँगालेर हो । उनीहरुकै जिज्ञासा र सहजतालाई मध्यनजर गरेर मैले पुस्तकहरु लेखेको छु ।

• सिकाइका लागि शिक्षक र विद्यार्थीबिचको सम्बन्ध कस्तो हुनुपर्छ ?
शिक्षक र विद्यार्थीबिचको सम्बन्ध केवल ज्ञान दिने र लिने ठेक्का होइन यसलाई मैनबत्ती र प्रकाशबिचको एकात्मताको रुपमा लिन सकिन्छ । शिक्षक विद्यार्थीबिचको सम्बन्ध जति आत्मीय, निकट र भयरहित भयो त्यति लाभदायी हुन्छ । जिज्ञासु र मेधावी विद्यार्थीहरु शिक्षकको प्राण र संस्थाका खम्वा हुन् । प्रसिद्ध शिक्षाविद् पउलो फ्रेरेका अनुसार शिक्षा बैंकिङ प्रणाली जस्तो हुनुहुँदैन जहाँ शिक्षकले विद्यार्थीको दिमागमा ज्ञान जम्मा गर्छ बरु यो संवाद र सह–सिकाइको एउटा उत्सव हुनुपर्छ । यस सम्बन्धमा रूसी मनोवैज्ञानिक लेभ भाइगोत्स्कीको भनाइ मार्मिक छ उनले भनेको छन्ः सामिप्य विकासको क्षेत्र (श्एम्) को अवधारणाले पनि शिक्षकलाई मार्गदर्शक र सहयोगीका रूपमा चित्रण गर्छ । तसर्थ यी दुइबिचको सम्बन्ध स्नेह, आपसी सम्मान र निश्छल विश्वासमा आधारित हुनुपर्छ, जहाँ विद्यार्थी भयमुक्त वातावरणमा प्रश्न सोध्न सकोस् र शिक्षक एउटा बौद्धिक माली बनेर प्रत्येक सुनाखरीलाई फुल्ने अवसर दिइरहोस् । अन्ततः, शिक्षक नदीको किनार र विद्यार्थी बग्ने पानी जस्तै हुन्, जहाँ किनारले पानीको अस्तित्वलाई मर्यादा दिन्छ तर गतिलाई रोक्दैन ।

• कस्तो साहित्य, शिक्षक र शिक्षकबिचको सम्बन्ध बिचमा नि !
एउटा कुशल शिक्षकले अर्को शिक्षकलाई प्रतिस्पर्धी होइन सहयात्री र प्रेरणाको स्रोत मान्नुपर्छ । हाम्रोमा त्यो संस्कार कम देखिन्छ । मैले पनि भौग्दै छु । एक जना शिक्षाविद् एन्डी हाग्र्रिभ्सले विद्यालय सुधारका लागि शिक्षकहरूबिच व्यावसायिक सहकार्य अनिवार्य रहेको तर्क अघि सारेका छन् । जब शिक्षकहरू आफ्ना अनुभव , चुनौती र शिक्षण विधिहरू आपसमा साटासाट गर्छन्, तब ज्ञानको क्षितिज झन् फराकिलो बन्दै जान्छ । यसलाई अमेरिकी विद्वान रोल्यान्ड बार्थले सहकर्मी संस्कृतिको सौन्दर्य पनि भनेका छन् त्यसैले शिक्षकहरू ज्ञानका सह–यात्री हुन् जसले एकापसको काँधमा काँध मिलाएर साझा प्राज्ञिक गन्तव्यतर्फ पाइला बढाउँछन् ।

• अनि विद्यार्थी र विद्यार्थीबिच?
विद्यार्थीहरूबिचको सम्बन्ध ईष्र्या र अस्वस्थ प्रतिस्पर्धाको मरुभूमि होइनसामूहिक प्रगतिको हरियो बगैँचा हुनुपर्छ । आधुनिक शिक्षाका प्रणेता जोन के हो म नाम विर्से उनका अनुसार विद्यालय आफैँमा एउटा सानो समाज हो, जहाँ विद्यार्थीले सहकार्य र लोकतान्त्रिक मूल्य–मान्यता सिक्छन् । सहकारी सिकाइका प्रवद्र्धक डेभिड जोनसन र रोबर्ट जोनसनले विद्यार्थीबिचको सकारात्मक अन्तरनिर्भरताले सिकाइको गुणस्तरलाई कयौँ गुणा बढाउने पुष्टि गरेका छन् । जब विद्यार्थीहरू एकापसमा ज्ञान बाँड्छन्, तब उनीहरू सह–अनुसन्धानकर्ता बन्दछन् र एउटाको बुझाइले अर्कोको अलमललाई चिर्ने काम गर्छ । यसर्थ विद्यार्थीबिचको सम्बन्ध नदीका ससाना सहायक नदीहरू जस्तै हुनुपर्छ, जो फरक धारबाट बगे पनि अन्ततः ज्ञानको एउटै महासागरमा समाहित हुनका लागि सहकार्य गर्छन् ।

• शिक्षक र प्रशासनबिचको सम्बन्धले पनि त सिकाइमा प्रभाव पार्ला नि होइन र ?
शिक्षक र प्रशासनबिचको सम्बन्ध शासक र शासितको जस्तो कठोर नभइ शरीर र आत्माको जस्तो अन्योन्याश्रित हुनुपर्छ । शैक्षिक नेतृत्वका प्रखर वक्ता माइकल फुलानका अनुसार सफल विद्यालयको मेरुदण्ड भनेकै नेतृत्व र शिक्षकबिचको साझा दूरदृष्टि र विश्वास हो । जब प्रशासनले सहयोगी उत्प्रेरकको भूमिका खेल्छ तब शिक्षकले विद्यालयलाई कार्यथलो मात्र नमानेर आप्mनो साधनास्थल ठान्न थाल्छ । तसर्थ यो सम्बन्ध एउटा रुखको जरा (प्रशासन) र त्यसका हाँगाबिँगा (शिक्षक) जस्तै हुनुपर्छ, जहाँ जराले पोषण र स्थायित्व दिन्छ भने हाँगाहरूले फल र छहारी दिन्छन् ।

• विद्यालय र अभिभावकबिच चाँहि
विद्यालय र अभिभावकबिचको सम्बन्ध बालमस्तिष्कको चौतर्फी विकासका लागि दुई किनारा जोड्ने एउटा मजबुत पुल हो । प्रख्यात समाजशास्त्री र शिक्षाविद् जोयस एपस्टाइन भन्छिन् ः विद्यालय, परिवार र समुदायको त्रिकोणात्मक साझेदारी नै विद्यार्थीको सफलताको कडी हो । बालकको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमाबाबु हुन् भने विद्यालय त्यसको संस्थागत र परिष्कृत रूप मात्र हो । यी दुई निकायबिच निरन्तर संवाद, आपसी समझदारी र साझा जिम्मेवारीबोधको कसिलो गाँठो हुन जरुरी छ । जब विद्यालयको ढोका र अभिभावकको मन एकापसका लागि सधैँ खुला रहन्छन्, तब मात्र एउटा शिशुले सुरक्षित र उज्यालो भविष्यतर्फ पाइला चाल्न सक्छ किनकि बाल विकास रूपी रथ गुड्न यी दुवै पाङ्ग्राहरूको सन्तुलन अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्