पाकिस्तानमा मे ३१ सम्म लकडाउन थपियो



इस्लामावाद,बैशाख-२८ । पाकिस्तानमा लागु भएको  लकडाउनको समयावधि पुनः तीन हप्ताका थपिएको छ । सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको समयावधि  थप गरेको हो ।लकडाउन थपिए पनि व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ ।

सरकारले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसार सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको  छ भने  अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भनिएको छ । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ । उनीहरुका अनुसार देशभरी गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९ सय ९१ जना नयाँ विरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको जानकारी दिएको छ । पाकिस्तानमा अहिलेसम्म कुल मृतकको संख्या ६ सय ३९ पुगेको छ । कोरोनाभाइरसका कारण विरामी भएका मध्ये आठ हजार २३ जनालाई भने निको भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्