चीनको सीमामा विवाद बढेपछि भारतले बोलायो गोर्खा सैनिक



एजेन्सी,असार ३ ।भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा भारतीय एक सैन्य अधिकारी र दुई सैनिक जवानको मृत्यु भएको भारतले जनाएको छ । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ ।

५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच धकेलाधकेल हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए । भिडन्त गर्ने अवस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि तनाव भएको भारतको दाबी छ । सीमामा तनाव बढेपछि दुवै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति बढाएका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

यसैबीच चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्