दुर्लुङका पहिरोपीडितलाई तमु समाज यूकेको आर्थिक सहयोग



साझापथ संवाददाता
लन्डन । तमु समाज यूकेले पर्वत जिल्लाको दुर्लुङका पहिरोपीडितहरुलाई आर्थिक सहयोग गरेको छ ।

गत १३ जुन राति गएको पहिरोबाट जनधनको क्षति भएकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो । उक्त पहिरोबाट मानवीय क्षतिको समेत सामना गर्नुपरेका ३ परिवार र पहिरोबाट विस्थापित भएका ५ परिवार गरी ८ परिवारलाई गत आइतबार ५ जुलाईका दिन प्रतिनिधिसभाका सदस्य सांसद पदम गिरीको बिशेष उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरिएको हो ।

कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङको सक्रियता तथा तमु समाज यूकेका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा रकम संकलन गरी पठाइएको ४ लाख ६२ हजार ६ सय ७२ रुपैयाँ सांसद गिरीले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा सांसद पदम गिरीले दुर्लुङको इतिहासमै पहिलोपटक यति ठुलो घटना घटेको बताउँदै कल्पनासमेत नभएको ठाउँमा पहिरो जाँदा ८ जनाले ज्यान गुमाउनुपरेको बताए । साथै, उनले तमु समाज यूकेले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए ।

रकम संकलन तथा पिडित परिवार सम्म पुर्‍याउनका लागि दुर्लुङमा जन्मिएर बेलायतमा बसोबास गर्दै आएका भूतपूर्व क्या. जीवन गुरुङ, खेमबहादुर गुरुङ, धरमबल गुरुङ र निरज गुरुङले सहयोग गरेका थिए । उक्त सहयोग संकलन अभियानमा नेपालमा जन्मिएर बेलायतमा बसेका नेपालीमनहरुले सहयोग रकम उपलब्ध गराएका थिए ।

दुर्लुङमा गएको उक्त पहिरोमा परी ३ परिवारका ९ जनाको ज्यान गएको थियो । मृतक ९ जनालाई २७ हजार ३ सयको दरले २ लाख ४५ हजार सात सय, हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्