बाह्रबीसे पुग्यो बाढी, पहिरो पीडितको उद्धारका लागि हेलिकप्टर



साझा पथ संवाददाता

सिन्धुपाल्चोक २५ असार । सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ ।
मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौँ लगिने जानकारी उनले दिए ।

सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।

सम्बन्धित समाचार

[अपडेट] सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी : दुई शव फेला, कम्तीमा ९ बेपत्ता, डेढ दर्जन घर बगे

उद्धारमा कुनै कसर बाँकी नराखिने
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले सन्देशमार्फत शोकसन्तप्त परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

खाडीचौरभन्दा माथिको पुल बगाएकाले बाटामा असहजता भए तापनि त्यस क्षेत्रमा हाल प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा नेपाली सेनाका सहसेनानीको नेतृत्वमा १० जनाको टोली पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्