दुर्लुङ समाज यूकेद्वारा पहिरो र लकडाउनबाट प्रभावितहरुलाई ९ लाख ६४ हजार सहयोग



साझा पथ संवाददाता
लन्डन । बेलायतमा क्रियाशील दुर्लुङ समाज यूकेले गत १३ जुन शनिबार राति पर्वतको दुर्लुङ काउँलेमा गएको पहिरोबाट पीडित परिवार र लकडाउनबाट प्रभावितहरुलाई ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोही रात उक्त पहिरोका कारण थापा परिवारका ६ जना र बिक परिवारको ३ जनाले ज्यान गुमाएका थिए ।

दुर्लुङ समाज यूकेले थातथलोमा ९ जनाको ज्यान जाने गरी गएको पहिरोबाट पीडित भएका गाउँलेहरुलाई केही भए पनि राहत होस् भन्ने उद्देश्य अनुरुप उक्त रकम संकलन गरी प्रतिनिधिसभाका सदस्य सांसद लालकाजी गुरुङ, नेपाली कांग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङ, स्थानीय कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी लगायतको विशेष उपस्थितिमा शनिबार २७ जुनका दिन राहत वितरण गरिएको समाजका निवर्तमान अध्यक्ष एवं वरिष्ठ सल्लाहकार ज्वहारलाल (जेएल) गुरुङले जानकारी दिए ।

समाजले उक्त पहिरोबाट पीडित थापा परिवारलाई ४ लाख ५० हजार रुपैयाँ र बिक परिवारलाई २ लाख २५ हजार रुपैया र सोही पहिरोबाट क्षति भएका ३ घरपरिवारलाई ३१ हजार १ सय ५० का दरले ९३ हजार ४ सय ५० रुपैयाँ आर्थिक सहयोग गरिएको आर्थिक संयोजक बिकास (रक) गुरुङले जानकारी गराए । साथै, उनले पहिरोबाट ज्यान गुमाएका संख्याको आधारमा जनही ७५ हजार रुपैयाँको दरले दुवै परिवारलाई आर्थिक सहयोग गरिएको बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सांसद लालकाजी गुरुङले विपतमा मानवीय भावनाले सहयोग गरेकोमा दुर्लुङ्ग समाज यूकेलाई धन्यवाद दिँदै आफूले दुर्लुङ पहिरो पीडितलाई उचित क्षतिपूर्ति र पुनः स्थापनाका लागि संसदमा सरकारको ध्यानाकर्षण गराएको बताए । त्यस्तै, नेपाली कांग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङले कोरोना भाइरसले बिश्व आक्रन्त बनाईरहेको अवस्थामा पनि गरेको सहयोगको प्रसंशा गर्दै दुर्लुङ समाज यूकेप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्