स्रष्टा घनबहादुरको ‘फूलको मुस्कान’ गीतिसंग्रह सार्वजनिक, सहयोगीलाई दिए धन्यवाद



लन्डन । नेपाली समुदाय बेलायतमा समाजसेवी, सफल व्यवसायी र साहित्यकारको रुपमा परिचित घनबहादुर थापा मगरले ‘फूलको मुस्कान’ नामक गीतिसंग्रह ल्याएका छन् ।

गत १२ जुलाई आइतबारका दिन सम्पन्न नेपाली साहित्य विकास परिषद् यूकेको रजतजयन्ती ऐतिहासिक सुखद् अवसरमा परिषद्का संरक्षक, वरिष्ठ साहित्यकार तथा गीतकार एवं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले उक्त कृति विमोचन गरेका थिए । स्रष्टा थापामगरले नेपाली राजदूत सुवेदी लगायत विमोचनमा सहभागी, प्रकाशनमा महत्वपूर्ण भूमिका खेलेका साहित्यकार, साथीभाइ, ईष्टमित्र, आफन्तजन घर परिवारलाई सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका छन् । कोरोना भाइरसका कारण भर्चुअल रुपमा आयोजित कार्यक्रममा आफ्नो कृति विमोचन गर्न पाएकोमा अति नै गौरव र खुसी लागेको थापाले सामाजिक सञ्जालमा लेखेका छन् । सो अवसरमा उनले परिषदका सल्लाहकार, सम्पूर्ण पदाधिकारी, विशिष्ट अतिथि तथा सहभागी कवि, कवियत्री, धर्मपत्नी, भाइहरू साथै परिवार, सबै शुभचिन्तक आफन्तजन, साथीहरू र आयोजक टीम सबैलाई रजत उत्सवको हार्दिक शुभकामना समेत दिएका छन् ।

उनको फूलको मुस्कान गीतिसंग्रहमा ११४ वटा सिर्जना समावेश छन् । जसमा २ वटा मगर भाषामा छन् । सो संग्रहमा माया प्रेमका संयोगान्त र वियोगान्त, जीवनका सुख र दुःख, प्रकृतिप्रतिको प्रेम, समाजका तमाम विसंगति, वैदेशिक जीवन भोगाईका पीड़ा, कलासंस्कृतिप्रतिको माया, देश र जन्मभूमि प्रतिको अगाध प्रेम जस्ता विषयका गीतहरू रहेको जनाइएको छ । उनले यस अघि पनि गीत, कविता लगायत गरी ८ वटा कृति पाठक, दर्शक तथा श्रोताबीच ल्याइसके ।

प्रतिक्रिया दिनुहोस्