बजेट खर्चमा कर्णाली सरकारले लक्ष्य भेट्टाउन सकेन, गत आवमा १६ अर्बमात्र खर्च



काठमाडौं ३ साउन । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोड रुपैयाँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्यअनुसार खर्च गर्न सकेन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ ९ अर्ब १२ करोड ७२ लाख २४ हजार ८४२ तथा चालूतर्फ ७ अर्ब २४ करोड २० लाख ४० हजार २५४ रुपैयाँ खर्च गरेको छ । पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार र चालूतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार बजेट विनियोजन गरिएको थियो ।

मन्त्रालयका उपसचिव दिलिप केसीले गत आर्थिक वर्ष २०७६/७७ मा पुँजीगततर्फ ४२.८ प्रतिशत र चालूतर्फ ५५.४५ प्रतिशत तथा औसतमा ४७.६५ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।

कर्णाली सरकारले ७९ वटै स्थानीय तहमार्फत २ अर्ब ८० करोड ६५ लाख ६५ हजार ८२५ रूपैयाँ खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्