अमेरिका र बेलायतवासी लिम्बुहरुद्वारा फक्ताङलुङका २७९ परिवारलाई राहत सहयोग



काठमाडौं ३ साउन । बेलायत र अमेरिकामा बस्ने लिम्बु परिवारले कोरोना भाइरस महामारीको कारण नेपालमा दु:ख पाइरहेका ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिकाका २ सय ७९ परिवारलाई ८ लाख रुपैयाँबराबरको राहत सहयोग गरेका छन् । उनीहले आफ्ना दिवंगत अभिभावकको सम्झनामा सहयोग गरेका पूर्व गाविस अध्यक्ष मणिप्रसाद लाबुङले जानकारी दिएका छन् ।

लाबुङका अनुसार राहत फक्ताङलुङ गाउँपालिका ४ साबिक ईखाबु ५ का हाल लन्डनवासी चीरेन्द्र लाबुङ लिम्बु, न्युयोर्कवासी शिवकुमार लाबुङ, वीरेन्द्रहाङ लाबुङ, सम्झना लाबुङ लगायतका परिवारहरुले उपलब्ध गराएका हुन् । राहत फक्ताङलुङको खानी, सेतोबा, साप्चुङ्वा, खुपातल, सेगुङवा, युखाबो, लिङखिम, थिवा लगायत गरी कुल २७९ घर परिवारलाई वितरण गरिएको हो । प्रतिघर ३० केजीको जुनेली चामल १ बोरा, दाल १ केजी १ र १ लिटर खानेतेल पाएका छन् ।

महामारी र लकडाउनले प्रभावित सयौं गाउँले दाजुभाइ, दिदीबहिनीहरुका लागि प्रवासबाट थोरै भए पनि गरेको सहयोगले लाभान्वित भएकोमा आफूलाई खुसीको अनुभूति भएको यूके निवासी चीरेन्द्र लाबुङ र अमेरिका निवासी शिव लाबुङले बताए । मातापिता र हजुरबुबाआमाको सम्झनामा वितरण गरेको राहत कार्यक्रम सफल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने फक्ताङलुङ गाउँपालिका, फक्ताङलुङ ४ का वडासमिति, जनप्रतिनिधिहरु, स्वयंसेवकहरु र समाजसेवी सबैलाई अमेरिकावासी वीरेन्द्र लाबुङ लिम्बुले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्