तमु समाज यूके कस्तो संस्था हो ? [संक्षिप्त परिचय]



अनेकतामा एकता र विविधताले भरिपूर्ण हाम्रो देश नेपालको साझा फूलबारीमा शदिऔंदेखि फल्न र फुल्न सफल विभिन्‍न जातजातिहरुमध्ये एक तमु अर्थात् गुरुङ जाति हो । तमु जातिको आफ्नै विशिष्ट कला र संस्कृतिले भरिपूर्ण छ । समय, काल र परिस्थितिअनुसार बसाइँसराईको क्रममा ठूलो संख्यामा तमुहरु संयुक्त अधिराज्य बेलायतको बसाईसँगै तमु जातिलगायत नेपाली संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्दै भावीपुस्तामा हस्तान्तरण गर्नुको साथै सामाजिक जीवनका विभिन्‍न पक्षमा आईपर्ने सुखमा रमाउने र दु:खमा साथ दिने मूलअभिप्रायले चित्रबहादुर गुरुङको अध्यक्षतामा ३० सेप्टेम्बर २००७ मा स्थापित यो संस्था १० डिसेम्बर २०१२ तत्कालीन अध्यक्ष शिवशरण गुरुङको कुशल नेतृत्वमा बेलायतको च्यारिटी कमिशनमा विधिवतरुपमा दर्ता भएर वैधानिक परोपकारी संस्थाको मान्यता तमु समाज यूकेले प्राप्त गरेको थियो ।

समाजका निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङको कार्यकालमा स्थानीय सरकारबाट कम्युनिटी एसेट ट्रान्सफर योजनाअन्तर्गत सामाजिक भवन प्राप्त गर्न सफल भएको छ। यसैगरी वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङको नेतृत्वमा हरप्रकारका परोपकारी तथा सामाजिक कार्यहरु गर्न निरन्तर लागिरहेको छ । हालसम्म ५ सय ३४ भन्दा बढी आजीवन सदस्यहरु रहेको यस संस्थामा स्थापनाकालदेखि वर्तमानसम्म विभिन्‍न चरणका कार्यसमितिका पदाधिकारिहरु, सल्लाहकारहरु, आमा समूहका पदाधिकारिहरु, युवा समूहका पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरुले नि:स्वार्थ भावबाट समाजको सेवागरी विभिन्‍न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको छ र सामाजिक सेवाको कार्यमा तमु समाज यूके निरन्तर अघि बढिरहेको छ।

समाजको महत्वपूर्ण अंगको रुपमा रहेको तमु समाज यूके आमा समूहको सक्रियता संस्कृति जगेर्ना गर्ने देखि सामाजिक तथा मानवीय सेवामा आमा समूहको निवर्तमान अध्यक्ष माया गुरुङदेखि वर्तमान आमा समूह अध्यक्ष बिन्दु घलेको भूमिका अत्यन्तै उत्कृष्ट रहँदै आएको छ ।

“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” अर्थात् जन्म दिने आमा र जन्मभूमि, स्वर्गभन्दा पनि महान् हुन्छ । यो भावनालाई तमु समाज यूकेले सदासर्बदा आत्मसात गर्दै आएको छ। मातृभूमि नेपालमा १३ जुन २०२० शनिबारका राति गण्डकी प्रदेश, पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर ३, दुर्लुङ काउलेमा भारी वर्षाको कारणले ठूलो पहिरो गई ३ परिवारको ९ जनाले ज्यान गुमाएको, २ घर पूर्णरुपमा क्षति भएको, अन्य केही घरहरु पनि पहिरोको जोखिममा परेको र धेरै धनजनको क्षति भएको खबरले तमु समाज यूकेका सबै सदस्यहरुलाई स्तब्ध र मर्माहत बनायो । प्राकृतिक विपतको यस विषम दुखद् परिस्थितिमा समाजका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा दुर्लुङ पहिरो पीडित परिवारको सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान सन्चालन गरिएको थियो । आर्थिक सहयोग अपिल गरेको छोटो अवधिमा समाजको सयौं सदस्यहरु तथा शुभचिन्तक मित्रगणहरुबाट खुल्ला हृदयले सहयोग प्राप्त भएको छ।

विगतमा सेती नदीमा आएको बाढीले बस्ती बगाएको बेला होस या भूकम्पले तहसनहस पारेको बेला नै किन नहोस, हरेक खाले प्राकृतिक तथा मानवीय विपत्तिमा तमु समाज यूकेले आफ्नो मातृभूमिमा आवश्यकताअनुसारको आफ्नो सेवाको हात फैलाउँदै आएको छ । २०७२ सालको विनासकारी महाभूकम्पको समयमा यस समाजले लन्डनको सडक सडकमा आर्थिक संकलन गरेर गोर्खा, कास्की र लमजुङ जिल्लाका भूकम्प पीडितहरुलाई झन्डै १५ लाख रुपैयाँको राहत उपलब्ध गरेको थियो । यसैगरी भूकम्पपछिको पुनर्निर्माण अभियानअन्तर्गत धादिङ जिल्लामा १७ लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरी सहयोग गरेको छ ।

सामुदायिक अभियानको नेतृत्व र पहल केही सक्रिय व्यक्तित्वहरुले लिने भए पनि पुरै समुदायको सहयोग र सदभावबिना केही हुँदैन । यही तथ्यलाई मनन् गर्दै तमु समाज यूकेका सबै सदस्यहरु सक्रियतापूर्वक समाजका कार्यक्रमहरुमा सहभागी हुँदै आएको पाइन्छ । समाजको विकासमा आमा समूह र युवा समूहको सक्रियता र सहभगिताको महत्वपूर्ण भूमिका रहेको छ । समय र परिस्थितिअनुसार जन्मभूमि भन्दा धेरै टाडा रहे तापनि आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा तथा आपसी भाईचारालाई सजीव बनाई राख्न तमु समाज यूके अहोरात्र खटिरहेको छ ।

बेलायतमा बसोबास गर्ने तमु तथा नेपाली समुदाय बेलायती रहनसहनमा भिज्नु पर्ने बाध्यता छ। त्यो भन्दा अझै ठूलो बाध्यता हो, आफ्नो पनलाई प्रवासमा जोगाई राख्नु । यो विषय निकै गम्भीर र कठिन पनि छ । यसको एकमात्र विकल्प भनेकै सामूहिक र सामुदायिक पहल हो । बेलायतमा नेपालीहरुले बेलायती जीवनपद्धतिमा अन्तरघुलन तथा समाहित हुनुको साथसाथै आफ्नो मौलिक नेपाली कला र संस्कृतिलाई सदा जोगाइराख्‍न र भावीपुस्तामा यसको हस्तान्तरण गर्नु पर्ने महत्वपूर्ण जिम्मेवारी प्रत्येक संघ संस्थाको रहेको छ । यस कार्यमा तमु समाज यूके निरन्तर रुपमा लागिरहेको छ ।

वैधानिक परोपकारको क्षेत्रमा कटिबद्ध गैरनाफामूलक च्यारिटेवल सामाजिक संस्था तमु समाज यूकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दु:ख र सुखमा साथ दिँदै आएको छ। विपत्तिका बेला अर्थिक अभावका कारण कठिनाई भोगिरहेका र कष्टकार जीवन बिताइरहेका स्वदेशका थुप्रै ब्यक्तिहरुलाई यस संस्थाले सकेको सहयोग गरेको छ। यस वर्ष विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा तमु समाज यूकेले बेलायतको एनएचएस स्वास्थ्यसेवामा पीपीई खरिदका लागि आर्थिक दान, संस्थाका जेष्ठ नागरिकहरुलाई मास्क तथा स्यानिटाइजर वितरण र लकडाउनको समयमा स्वदेश नेपालमा दु:ख परेका र जीवनयापनमा कठिनाई भोगिरहेकाहरुलाई नगद तथा खाद्यान्न वितरण गरी झण्डै चार लाख रुपैयाँ सहयोग गरेको छ ।

तमु समाज यूकेको सामाजिक सक्रियता र सदस्यहरुको सद्‍भावले हालसम्म एक करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग नेपालमा गरिसकेको छ । र यसले हासिल गरेका उपलब्धिहरु गर्व गर्नलायक छन् । बेलायतको राजधानी लन्डनको सडबरी टाउनमा स्थानीय सरकारबाट प्राप्त आफ्नै सामुदायिक भवन रहेको छ । यस समाजले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न तमुहरुको महान् पर्व तमु ल्होछार लगायत नेपाली नयाँ वर्ष तथा अन्य नेपाली चाडपर्वहरुमा तीज, वैशाख पूर्णिमा तथा बुद्ध जयन्ती र तिहारलाई ठूलो महत्व र भव्यताकासाथ मनाउँदै आएको छ, जसले गर्दा प्रवासमा हाम्रा भावीपुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्परा सधै स्नेह र श्रद्धाको आधार तथा प्रेरणाको स्रोत बन्न सकोस् भन्ने तमु समाज यूकेको चाहना रहेको छ ।

तमु समाज यूके सम्बन्धी थप जानकारी आवस्यक भएमा समाजको www.tamusamajuk.com, [email protected] मार्फत प्राप्त गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्