आन्तरिक द्‍वन्द्वले नेकपा अध्यक्षद्वय पूर्व–पश्‍चिम भए !



काठमाडौँ साउन १२ । समझदारी खोज्न भन्दै ९ गते नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको एक घण्टा लामो भेट भने हार्दिकतापूर्ण रहेन । यसअघि मिल्न–मिल्न लाग्यो भनिएको स्थितिभन्दा ठीक विपरीततर्फ उनीहरू गए । त्यसैले स्थगित स्थायी कमिटीको बैठक गर्ने समय आइसक्दा पनि सहमतिको ठोस खाका आएको छैन । बरु दुई अध्यक्षबीच दूरी झन् बढेको छ, संवाद पातलिएको छ ।

९ गतेको भेट तिक्ततापूर्ण भएपछि अध्यक्षद्वयबीच थप संवाद भएको छैन । त्यसअघि साउन ४ गते साँझ भएको छलफलमा अध्यक्ष दाहालले ओलीलाई भेटेर ‘हिजो जे–जे भयो, जसो भयो, अब म पछाडि फर्किएँ ’ भनेका थिए । दाहालले ‘म पाँच महिनापछि महाधिवेशन हुन्छ र तपाईंले एकल अध्यक्षमा समर्थन गर्नु हुन्छ भन्नेमा विश्वस्त छैन, म नेपाल समूहसँगै छु’ भनेपछि ओली र दाहालका बीचमा ‘बन्नै लागेको’ सहमति भत्किएको
संकेत बालुवाटारलाई मिलेको थियो । ‘त्यसपछि अध्यक्षद्वय पूर्व–पश्चिम भएका छन्, संवादका लागि गरिएको पहल सफल हुन सकेको छैन,’ बालुवाटार स्रोतले भन्यो । त्यही बेला माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको भेलाले दाहाललाई महाधिवेशनसम्मै साथ दिने निचोड निकाल्यो ।
दाहाल र ओलीबीचको पछिल्लो संवाद कति तिक्ततापूर्ण रूपमा सकियो भन्ने उदाहरणका लागि ९ गते पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा दाहालले गरेको भाषणमै छनक पाइन्छ । ओलीसँग भेटेर सोझै कार्यक्रममा पुगेका दाहालले पार्टी गम्भीर संकटमा रहेको बताएका थिए । ‘मैले सार्वजनिक रूपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ । ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन । त्यो साँचो होइन । किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निर्वाचन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ । त्यसले संकटलाई व्यक्त गरेकै छ, यो सबैले देखेकै कुरा हो,’ उनले उक्त कार्यक्रममा भनेका थिए ।
एक नेताले भने, ‘अनुमान गर्नुस् न, प्रधानमन्त्रीलाई भेटेर आउनेबित्तिकै अर्का अध्यक्ष दाहालले यस्तो कुरा किन गर्नुभयो ? त्यसपछि ओली र दाहालका बीचमा किन संवाद भइरहेको छैन ?’ त्यसो भए ओली र दाहालका बीचमा लगभग मिलेर पनि भाँडिएको सहमति के थियो त ? स्रोतले कान्तिपुरसँग भन्यो, ‘३ गते नेकपाको सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वयबीच दुई किसिमको सहमति भएको थियो, एउटा लुकाउनका लागि र अर्को देखाउन ।’

साउन ३ मा दाहालको बेचैनी
अध्यक्षद्वयसहित महासचिव विष्णु पौडेल तथा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनका बीचमा असार २१ गते लामो संवाद चल्यो । अध्यक्षहरूले कुराकानी जारी राख्ने तथा अरू चार नेताले सहमतिको खाका तयार पार्ने समझदारी बनेपछि तिनै नेताहरू सम्मिलित अनौपचारिक कार्यदल बनाइयो । तर दाहाललाई साथ दिइरहेका नेपाल पक्षीय नेताहरूले ओली र दाहालबीच मात्रै सहमति जुटाउन कार्यदल गठन गरिएको भन्दै विरोध जनाए । त्यसपछि दाहालको सचिवालयले कुनै कार्यदल गठन नगरिएको र दुई अध्यक्षले नै संवाद गर्ने र आवश्यक परे वरिष्ठ नेताहरूलाई सहभागी गराउने भन्दै विज्ञप्ति जारी गर्‍यो । कार्यदलको काम भने रोकिएको थिएन । दोस्रो तहका यी नेताहरूले एकातिर र अध्यक्षद्वयले अर्कातिर संवाद गरिरहँदा स्थायी कमिटी बैठक बारम्बार सरिरहेको थियो । झन्डै १५ दिनको गलफतीपछि साउन २ गतेका लागि डाकिएको स्थायी कमिटी बैठक स्थगन गरियो, ३ गते सचिवालय बैठक बोलाइयो । ‘२ गते नै लगभग सहमति जुटिसकेको थियो, त्यसलाई मूर्त रूप भने ३ गते दिइएको हो,’ स्रोतले भन्यो, ‘सहमतिको ड्राफ्ट तयार पार्न महासचिव पौडेल र स्थायी कमिटी सदस्य शर्माको मुख्य जोडबल छ, उनीहरू नै साक्षी बसेर एउटा लुकाउने र अर्को देखाउने सहमतिको ड्राफ्ट तयार भएको हो, सही गर्न मात्रै बाँकी थियो ।’

अध्यक्षद्वयले हस्ताक्षर गर्ने तर अहिले गोप्य राख्ने भनेर तयार पारिएको सहमतिपत्रमा मंसिरमै महाधिवेशन गर्ने, पार्टीको एकल अध्यक्षका लागि ओलीले दाहाललाई समर्थन गर्ने र एक वर्षपछि चुनावी सरकारको नेतृत्व दाहालले गर्ने उल्लेख थियो । उक्त सहमतिपत्रमा महाधिवेशनपछि ओली पार्टीको सर्वोच्च नेता बन्ने र ‘जनताको बहुदलीय जनवाद’ पार्टीको कार्यक्रम हुनुपर्ने प्रस्तावमा भने दाहाल सहमत हुन सकेका थिएनन् । बरु दाहालले असोजमै पार्टीको महाधिवेशन गरेर नेतृत्व आफूलाई हस्तान्तरण गर्नुपर्ने र आउँदो फागुन ३ मा यो सरकार ३ वर्ष पुगेपछि ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए । ‘गणतन्त्रको आधार जबजसमेत भएकाले यसबारे पछि कुरा गरौंला भन्ने भएको थियो तर चुनावी सरकारको नेतृत्व लिने र मंसिरमा हुने अर्ली महाधिवेशनबाट दाहाल अध्यक्षमा चुनिन ओलीले समर्थन गर्ने कुरामा चाहिँ लगभग सहमति जुटेको हो,’ दाहालनिकट स्रोतले भन्यो, ‘दाहालले राष्ट्रपतिलाई नै साक्षी राखेर यो सहमति गरौं भन्नुभएको थियो, ओली पक्षीय नेताहरू भने बालुवाटारमै केही विश्वस्त नेताहरू बसेरै सहमतिमा सही गरौं भन्ने पक्षमा थिए ।’

ओलीनिकट स्रोतले बताएअनुसार दाहालकै चाहनाअनुसार महासचिव पौडेलले राष्ट्रपति भवन शीतल निवास जाने समय मिलाएका थिए । त्यहीअनुसार उनले ‘७ बजे भेटघाटको समय तय भयो’ भनेर दाहाललाई एसएमएस तय गरे । दाहाल ओलीसँग भेटघाट होला भनेर प्रधानमन्त्री निवास बालुवाटार पुगे जहाँ स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ र पृथ्वीसुब्बा गुरुङ मात्रै थिए । एकछिनमा दाहाललाई ओलीको फोन आयो, उनले आफू राष्ट्रपति निवासमा भएकाले त्यतै आउन निम्ता गरे । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री पुगेको करिब १५ मिनेटपछि दाहाल राष्ट्रपति भवन छिरेका थिए । महासचिव पौडेल तथा स्थायी कमिटी सदस्यहरू शर्मा र पोखरेल पनि त्यो बीचमै राष्ट्रपति कार्यालय छिरेका हुन् । उक्त छलफलमा पनि महासचिव पौडेलले भूमिका बाँधेर अब मंसिरमा महाधिवेशन गर्ने, एकल अध्यक्षमा दाहाललाई ओलीले समर्थन गर्ने गरी सहमति गरौं भनेका थिए । ओलीले दिउँसो १ बजे दाहालसँग भएको भेटको कुरा दोहोर्‍याउँदै पार्टीको कार्यक्रम जबज हुनुपर्छ भने । त्यसमा राष्ट्रपति भण्डारीले पनि समर्थन जनाइन् । दाहालले ‘भनेपछि म नेकपाको अध्यक्ष बन्न पहिले एमाले हुनुपर्‍यो भन्ने तपाईंहरूको प्रस्ताव हैन त ?’ भनेर सोधेका थिए । दाहालको ब्रिफिङ सुनेका नेकपाका एक स्थायी कमिटी सदस्यले कान्तिपुरलाई बताएअनुसार ‘म एमाले भएर नेकपाको अध्यक्ष बन्दिनँ, नेकपाकै अध्यक्ष बन्ने हो, जबज स्विकार्ने कुरा आउँदैन’ भनेका थिए । ‘प्रचण्डजी, प्रधानमन्त्रीको प्रस्तावमा असहमत भएपछि हामीले गरेको मिहिनेत पूरै पानीमा गयो,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘गोप्य राख्ने भनिएकै डकुमेन्टमा हस्ताक्षर नभएपछि सार्वजनिक गर्न भनेर तयार पारिएको डकुमेन्ट पनि यत्तिकै भयो ।’

बालुवाटार स्रोतका अनुसार सार्वजनिक गर्ने भनेर तयार पारिएको सम्झौतापत्रमा आगामी मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने र महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्ने उल्लेख थियो । जुन पार्टी एकीकरण हुँदा अध्यक्षद्वयले गरेको सहमतिपत्रमा पनि भएकाले नेपाल पक्ष पनि सहमत हुन्छ भन्ने सहमतिको मस्यौदा निर्माणकर्ताहरूको थियो । भित्री रूपमा भइरहेको यो सबै चलखेलबारे नेपाल समूह बिलकुल बेखबर थियो । फागुन ३ पछि सरकारको नेतृत्व दाहालले लिने या पार्टीको आगामी कार्यक्रम जबज मान्नुपर्छ भन्ने सर्त नभएको भए दाहाल र ओलीबीच यो बीचमा सहमति भइसकेको हुने थियो ।

नेपाल समूह भने करिब चार घण्टा चलेको सचिवालय बैठकमा ओलीले गरेको अर्ली महाधिवेशनको प्रस्ताव र त्यसमा दाहालले गरेको समर्थनबाट झस्किसकेको थियो । ‘अध्यक्षद्वयबीच भित्री रूपमा केही न केही लेनदेन भएको छ भन्नेमा हामी लगभग पक्काजस्तै भएका थियौं,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘तर ओलीले घुमाउँछन् । उनले निकास दिनुको विकल्प छैन भन्नेमा कत्ति पनि दायाँबायाँ गर्नै हुन्न भनेर हामी अडिग थियौं, भयो पनि त्यस्तै ।’

नेकपा स्थायी कमिटी बैठक सुरु भएयताको महिना दिनमा दाहाल सबैभन्दा अस्थिर भएको दिन पनि त्यही नै हो । उनले प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि आफूपक्षीय सचिवालय सदस्यहरूसँग संवाद गरेका थिए । त्यतिखेर उनीहरूले ‘ओलीले दुईमध्ये एक पद छाड्नैपर्छ भन्ने हाम्रो बटमलाइन हो, यसैमा अडिग रहनुस्’ भनेका थिए । दाहाल पनि यही विषयमा सहमत भएर ओलीसँग भेट्न गए । पार्टी एकताका साक्षी पौडेल र शर्मासहित भएको भेटमा अर्ली महाधिवेशन गरेर जाने सहमति भयो, त्यसपछिको सचिवालय बैठकमा ओलीले यही प्रस्ताव गरे, दाहालले समर्थन जनाए । राष्ट्रपति निवासमा भएको छलफलमा दाहाल ओलीको प्रस्तावमा सहमत भएनन्, निस्किएर गाडी चढ्नेबित्तिकै स्वकीय सचिव गंगा दाहाललाई फोन गरेर कुनै पनि सहमति नभएको स्टाटस लेख्न लगाए । भोलिपल्ट बिहान पार्टी उपाध्यक्ष वामदेव गौतम, महासचिव पौडेल, स्थायी कमिटी सदस्य शर्मा र देवेन्द्र पौडेलसँग भएका छुट्टाछुट्टै भेटमा अबको लाइन महाधिवेशन नै हो भनेका दाहालले त्यसपछि आफ्ना पक्षका सचिवालय सदस्यहरूसहित स्थायी कमिटी सदस्यहरूसँग भएको भेटमा ओलीसँग कुनै सहमति नभएको बरु पार्टीलाई एकताबद्ध पार्नसमेत व्यापारीहरू सक्रिय रहेको भन्दै व्यापारी दीपक भट्टको नाम लिएका थिए ।

प्रधानमन्त्री ओलीनिकट मानिने भट्टले अध्यक्षद्वयबीच एकता गराउन दौडधुप गरिरहेको चर्चा आएका बेला दाहालले समेत उनको नाम लिएपछि अरू स्थायी कमिटी सदस्यहरूबीच मुखामुख भएको बैठकमा सहभागी अर्का एक नेताको भनाइ छ । त्यही दिन साँझ दाहाल र ओलीका बीचमा भएको भेटमा परिस्थिति फेरि उलटफेर भयो, बन्नै लागेको सहमति तोडियो, दुवै अध्यक्ष आआफ्नो बाटो लागे । यही बीचमा दोस्रो तहका नेताहरू बरु सक्रिय रहे  यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्