मर्दीखोला समाज यूकेद्वारा कास्कीमा पहिरोमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग



पोखरा साउन १५ । कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ मा साउन २ गते बिहानपख गएको पहिरोमा ज्यान गुमाउने मृतक परिवारका आफन्तलाई मर्दीखोला समाज यूकेले आर्थिक सहयोग गरेको छ ।

समाजका अध्यक्ष धर्मराज गुरुङको अग्रसरतामा संकलित दुई लाख १२ हजार चार सय रुपैयाँ बिहीबार पोखरा –१६ लामाचौरमा मृतकहरुका बुबा र हजुरबुबलाई मर्दीखोला समाज यूके आमा समूहका सल्लाहकार कमला गुरुङले हस्तान्तरण गरिन् । गुरुङले प्राकृतिक विपत्तिमा परेर कलिला बाबु नानीले ज्यान गुमाएको समाचारले निकै मर्माहत भएको भन्दै धैर्य धारण गर्न शोकसन्तप्त परिवारलाई आग्रह गरिन् । उनले तन टाढा भए पनि मन आफ्नै जन्मभूमीको माटोमा रहेकाले विपद्को घडीमा सबैले एकअर्काप्रति सहयोग र सद्भाव राखेर अघि बढ्नु पर्ने धारणा राखिन् ।

वडाध्यक्ष कृष्णप्रसाद दवाडीको विशेष उपस्थितिमा मृतकहरुका बुबा र हजुरबुबालाई उक्त रकम हस्तान्तरण गरिएको हो । वडाध्यक्ष दवाडीका अनुसार उक्त घटनाबाट वडामा तीन जनाको ज्यान गएको थियो, प्रभावित नौ घर मध्ये तीन घर पूर्ण रुपमा क्षति भएको छ । दवाडीले विपद् व्यवस्थापन तथा पुनस्थापना कोष खडा गरेर सहयोगको कार्य अगाडि बढाएको जानकारी दिए ।

उनीहरु एउटै घरपरिवारका तीन भाइका छोराछोरी हुन् । बन्दाबन्दीको समयमा हजुरबुबा हजुरआमा रहेको खोराको मुखको गाउँको घरमा गएका थिए । मृतकका हजुरबुबा प्रेमराज वि.कले आफ्ना तीन छोराका नाति नातिना गुमाउनु पर्दाको पीडाले निकै भावविह्वल बनाएको बतानुए ।

स्थानीय शंखरमान गुरुङले विदेशमा भएर पनि भेगीय गाउँका दाजुभाइ दिदीबहिनीले आर्थिक सहयोग संकलन गरेर चराइरहेको घाऊमा मल्हम लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्