जनजाति महासंघ कतारले मनायो २६ औं विश्‍व आदिवासी दिवस, कुन नेताले के भने ?



दोहा, कतार साउन २६ । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले २६ औं विश्व आदिवासी दिवस २०२० मनाएको छ ।

महासंघ कतारका अध्यक्ष शिवकुमार भुजेलको अध्यक्षतामा ‘पहिचानसहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस ,स्वनिर्णित विकास तथा महामारीमा बच्ने र बचाउने पक्षमा २६ औं विश्व आदिवासी दिवस’ मूल नाराका साथ विश्‍व आदिवासी दिवस मनाइएको हो ।

दिवसका अवसरमा अगस्ट ७ मा आयोजित भर्चुअल कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् अध्यक्ष जगत बराम प्रमुख थिए । पहिलो चरणको अन्तर्क्रियामा अतिथि वक्ताको रुपमा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल,नेपाली जनसम्पर्क समितिका कावा सभापति शंकर न्यौपाने, नेपाली समाज कतारका अध्यक्ष हिराधन राई र महासंघ कतारका प्रमुख सल्लाहकार देवराज राई रहेका थिए ।

अतिथिहरु महासंघ कतारमा विशेष सल्लाहकार सियाराम चौधरी, संस्थापक तथा सल्लाहकार सदस्य दिलकिरण खजुम, संस्थापक तथा सल्लाहकार सदस्य बिल गुरुङ, संस्थापक तथा सल्लाहकार सदस्य सुक बहादुर तामाङ, सल्लाहकार सदस्य धिरज चाम्लिङ राई, सल्लाहकार सदस्य शंखलाल तामाङ, सल्लाहकार सदस्य नियम भुजेल, सल्लाहकार सदस्य रस तमु, मातृसंस्थाहरुबाट किरात याक्थुङ चुम्लुङका अध्यक्ष राजन्द्रे साम्याङखाम लिम्बु, तमु गुरुङ समाजका अध्यक्ष भाइकाजी गुरुङ, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष बिमल राई, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष धिरेन तामाङ, थारु कल्याणकारिणी सभाका कावा सभापति हरि महत्तो, सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार, प्रवासी भुजेल समाजका अध्यक्ष बिनोद भुजेल, नेवा पुच कतारका कावा अध्यक्ष ओम श्रेष्ठ, नेपाली धानुक सेवा समाजका अध्यक्ष रामकुमार मण्डल, शेर्पा किदुग दोहा कतारका का.वा. अध्यक्ष तेन्जि शेर्पा नेपाली प्रवासी दनुवार संगठन कतारमा का.वा. अध्यक्ष बिक्षुकुमार दनुवार, प्रवासी ताजपुरीया समाज कल्याण परिषद्का अध्यक्ष रविलाल ताजपुरीया सहभागी जोडिएका थिए ।

महासंघ कतारका उप–महासचिव एक राज राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि तथा वक्ता जगत बरामले सम्पूर्ण बिश्वमानव जगतमा २६ औं दिवशको शुभकामना दिँदै हिजो आदिवासी जनजातिहरुको एजेन्डालाई राजनीतिक एजेन्डा बनाएर सरकारमा पुगेका राजनीतिक दलहरु अहिले त्यही दलहरु आदिवासी जानजाति लागि बाधक भएको बताए । उनले आफूहरुले संघीयता, स्वयात्तता, सांस्कृतिक, धार्मिक, भाषिक पहिचान, धर्म निरपेक्षता समानताको कुरा गर्दा जातीय द्वन्द्व फैलाएको, धार्मिक सहिष्णुता बिगार्न खोजको, राष्ट्रियतामाथि खल्लन गर्न खोजियो जस्तो लाञ्छना र आरोपहरु लगाइँदै आएको भन्दै नेपाली आदिवासीहरुको आन्दोलन कुनै जाति, समुदाय, क्षेत्र, लिङ्गको विरुद्धमा नभएर नितान्त समानता लागि, राष्ट्रिय विकासको लागि, राष्ट्र निर्माण र समृद्ध बनाउन गरिएको आन्दोलन भएको बताए । उनले यो आन्दोलनलाई सरकारले हातेमालो गर्न सक्यो भने, सम्बोधन गर्न सक्यो भनेमात्र यो नेपाल द्रुग गतिमा विकास हुन सक्छ भन्ने जिकिर गरे ।

अर्का अतिथि वक्ता प्रवासी एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेलले आदिवासी जनजातिहरुको मुद्दाहरु केही आन्तरिक समस्याका कारण पूरा र सम्बोधन नभइरहे पनि चाँडै नै यही सरकारले संविधान संशोधन गर्ने आश्वासन दिँदै आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जाहेर गरे ।

नेपाली जनसम्पर्क समितिका कावा सभापति शंकर न्यौपानेले नेपालका आदिवासी समुदायहरुको प्रथाजनित कानुनमा अडिएका संस्थाहरु भएको ती आफैंमा आत्मनिर्णयका अधिकारहरुदेखि स्वायत्तता र सुशासन पनि भएको र आत्मनिर्णयका अधिकारमा प्राकृतिक स्रोत, साधन, भूमि र भू भाग पनि पर्ने भएकोले यी सबै आदिवासीको मानव अधिकार हो, मानव अधिकार अविभाजित, सर्वभौमिक, नैसर्गिक र प्राकृतिक अधिकार भएको बताए ।

आदिवासीका अधिकारहरु कसैले आदिवासीलाई दिइने वा खोसिने अधिकार नभएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ नेपाल आदिवासी जनजातिहरुको हक, हित, पहिचान, र गौरवमय इतिहास, संस्कृतिको सरक्षण र संवर्द्धन गर्न खेलेको आवश्यक भूमिका सराहनीय रहेको बताए ।

नेपाल समाज कतारका अध्यक्ष हिराधन राईले भने हरेक परिवर्तनका आन्दोलनहरुमा आदिवासी जनजातिहरुको त्याग र योगदान घाम जस्तै छर्लंग भएको भन्दै जनआन्दोलन र युद्धबाट स्थापित मूल्य र मान्यताहरुलाई कुल्चिएर वर्तमान दुई तिहाईको सरकार प्रतिगमनतिर गएको आरोप लगाए । उनले आदिवासी जनजाति आन्दोलन निष्क्रिय र आजको रक्षात्मक रुपमा पुगेको महसुस गरेको र उचाईमा ल्याउन केन्द्रीय अध्यक्षलाई आग्रह गरे । उनले भने, ‘आन्दोलनमा सदैव जनता, समाज, पार्टी सहयोग र समर्थन गर्ने छ जनता समाजवादी पार्टीको १०+१ अवधारणा ल्याएर आएको छौं, ११ प्रदेश नभएसम्म सडक, सदन र सत्ता प्रयोग गर्दै अगाडि निरन्तर लड्ने छौं ।’

महासंघ कतारका प्रमुख सल्लाहकार देवराज राईले विषयको सुक्ष्म रुपमा सरकारले गरेको परिभाषा र आदिवासी जनजातिले गरेका परिभाषाको टिप्पणी गरेका थिए । वक्ताहरुले धारणा राखेसँगै उठेका प्रश्‍नहरुको वक्ताहरुबाट उत्तर दिएका थिए । यसरी पहिलो चरणको अन्तर्क्रिया कार्यक्रम समापनसँगै दोस्रो चरणको कार्यक्रम शुभकामना आदान प्रदान कार्यक्रममा प्रवेश गरिएको थियो ।

त्यसक्रममा विशेष सल्लाहकार सियाराम चौधरी, संस्थापक सदस्य तथा सल्लाहकार बिलबहादुर गुरुङ, सल्लाहकार धिरज चाम्लिङ राई र उपस्थित मातृसंस्थहरुका अध्यक्ष तथा प्रतिनिधिहरुद्‍वारा २६ औँ विश्व आदिवासी दिवसको शुभकामना राखेका थिए । कार्यक्रम महासंघका महासचिव सागर तुम्बाहाङफे लिम्बुले सञ्चालन गरेका थिए ।

अन्त्यमा महासंघ कतारका अध्यक्ष शिवकुमार भुजेलले कार्यक्रमलाई सफल बनाउन सहभागी सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव सागर तुम्बाहाङफे लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्