गलत डिजाइन र ठेकेदारको लापरबाहीले ढल्यो पञ्‍चकन्या सिक्रेको ग्याबिन वाल [भिडियोसहित]



नुवाकोट भदौ ११ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिका २ स्थित सिक्रेमा निर्माणाधीन सडकमा गलत डिजाइनका कारण लगाइएको ग्याबिन वाल भत्किएको छ ।

पूर्वाधार विकास कार्यालयलको गलत प्राविधिक सल्लाहले गर्दा नुवाकोटको छहरे हुँदै पञ्‍चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङ (घलेभन्ज्याङ) पुग्ने बाटोको सिक्रेमा निर्माण भएको ३ महिना नपुग्दै मंगलबार वालको मध्यभाग भत्किएको गाउँपालिकाले जनाएको छ । निर्माणको जिम्मा ज्योति निर्माण सेवाले लिएको हो । उक्त निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय विदूरलाई गाउँपालिकाले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि अटेर गर्दा यस्ता समस्या हुन पुगेको बताइएको छ ।

वालको विस्तृत अध्ययन नै नगरी निर्माण थालिएको थियो । प्रदेश सरकारबाट बजेट छुट्याइएको उक्त योजना करिब ९८ लाख रुपैयाँको रहेको छ । जुन रकममध्ये सिक्रेको ग्याबिन वालमा ७० प्रतिशत खर्च भएको थियो भने बाँकी रकम कविलासको ठाँटीभन्ज्याङस्थित राष्ट्रिय मावि नजिकको सडक छेउको वाल उठाउन प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार निर्माणकै चरणमा पनि प्राविधिक अनुगमन हुँदा यस्तो भएको हो । पञ्‍चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले निर्माण व्यवसायीबाट गुणस्तरीय काम नभएको आरोप लगाए । ठेक्का पूर्वाधार विकास कार्यालयले लगाएको हो । ‘पहिला पनि जाली लगाउँदा पटक-पटक भत्किरहेको ठाउँ हो, करोडौं खर्च भइसकेको छ’, अध्यक्ष तामाङले भने, ‘प्रदेश सरकारलाई पहिरो नियन्त्रणका लागि भनेर पैसा माग भएपछि १ करोड आयो, जुन पूर्वाधारमा गयो । उनले पटक-पटक जाली लगाउँदा दीगो नभएको र धेरै खर्च भएकाले जालीको विकल्प खोज्न माग गरेँ तर पूर्वाधारका प्राविधिकले जाली नै लगाउनु पर्छ भन्ने कुरा गरे’, उनले भने, ‘कार्यालयबाट अनुगमन नै भएन, अहिले वाल भत्किएर सडक अवरुद्ध बनेको छ, यसबारे हामीले कार्यालयको ध्यानाकर्षण गराउँदै छौं ।’

अध्यक्ष तामाङले पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीको कमजोरीका कारण वाल भत्किएकोले आज (बिहीबार) पत्र लेख्ने तयारीमा रहेको साझा पथलाई जानकारी दिए ।

तर पूर्वाधार विकास कार्यालय नुवाकोटबाट उक्त आयोजनामा खटिएका इन्जिनियर मदनकुमार आलेमगरले गलत डिजाइन नभइ सीमित स्रोत, साधनका कारणले स्टिमेट बनाउनुपर्ने बाध्यताले तारजालीको वाल भत्कन पुगेको प्रतिक्रिया दिए । ‘वडा नं २ का वडाध्यक्षसहित बसेर हामीले ३/४ स्टेपमा ठेक्कामार्फत् जाली लगायौं’, उनले भने, ‘बजेट थोरै भयो । ह्युम पाइप, राष्ट्रिय मावि छेउको वाल पनि उठाउनु पर्ने भएर त्यहीअनुसार लागत स्टिमेट बनाएका थियौं । भत्किएको आजै थाह पाएँ । हामी फेरि वाल लाउँछौं ।’

निर्माण कम्पनीसँग १३ महिना मर्मत समय रहने भएकोले बिग्रिएको ठाउँमा भिजिट गरेर पूर्वाधार विकास कार्यालयमार्फत पत्र काट्ने र निर्माण गराउने उनको भनाइ छ । सिक्रे र राष्ट्रिय माविको वालका लागि करिब ५२ लाख रुपैयाँ मात्र खर्च गरिएको उनले बताए ।

गाउँपालिकाले प्राविधिक र निर्माण कम्पनीको लापरबाही र बेवास्ताका कारण समस्या निम्तिएको बताए पनि इन्जिनयर आलेमगरले उक्त भनाइको खण्डन गरेका छन् । इन्जिनियर आलेमगरले भने, ‘साइट इन्जिनियर अनिल मण्डल धेरै पटक जानुभएको हो । म पनि धेरै गए । एक पटक त गाउँपालिका अध्यक्षलाई पनि भेटेँ । कोरोना महामारी र लकडाउनको समयमा धेरै दु:ख गरेर गयौं । स्टिमेटमा २२ मिटर भए पनि हामीले त्यो भन्दा बढी गरेका थियौं ।’ इन्जिनियर आलेमगरले २२ मिटर वाल लाउने स्टिमेट भए पनि पछि अध्यक्षको आग्रहमा साइटमा थप करिब १४ मिटर वाल लगाइएको बताए । उनले वालमा मेसिनद्वारा निर्माण गरिएको जाली राखिएको भन्दै गुणस्तरमा प्रश्न नरहेको दाबी गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले स्टेप स्टेपमा वाल दिँदै जानुपर्छ भन्ने आफूहरुको मान्यता भए पनि निर्माण कम्पनीले त्यसो नगरिएको आरोप लगाए । इन्जिनियर आलेमगरले वाल लगाउनुको अतिरिक्त काम गरिएको भने पनि प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले तोकिएको कामसमेत नगरिएको बताए । ‘टेन्डरबाट बचेको पैसाबाट नाला बनाउने भने पनि त्यो काम भएन । नाला बन्ला भनेर कुर्दाकुर्दै ग्राभेलको काम पनि प्रभावित भयो’, ‘उनले भने, ‘उसको (पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी) का कारण हामीले हाम्रो काम नरोकी समयमै सकायौं । उक्त सडकखण्डमा यही असारमा वाग्मती प्रदेश सरकार र पञ्‍चकन्या गाउँपालिकाको १/१ करोड (समपुरक बजेट)मा करिब साढे ६ किलोमिटर ग्राभेल (बेस निर्माण) गरिएको हो ।

वाल बनाउने ठेक्का लिएका ज्योति निर्माण सेवा लिखुका प्रोपाइटर सन्देश ढकालले भने आफूहरुले इस्टिमेट र मापदण्डअनुसार निर्माण गरिएको दाबी गरे । उनले भने, ‘हामीले नराम्रो काम गरेको होइन, नत्र पास हुँदैन । प्राकृतिक डिजास्टरका कारण जाली अडिन्न । पहिले पनि पटक पटक भत्किउँदै आएको ठाउँ हो त्यो ।’ पूर्वाधार विकास कार्यालय र गाउँपालिकाको कमजोरीका कारण वाल भत्किएको उनको आरोप छ ।

पूर्वाधार विकास कार्यालयले पुन: मर्मतका लागि ज्योति निर्माण सेवालाई निर्देशन दिने तयारी गरेको छ । ज्योतिका प्रोपाइटर ढकालले अब उक्त वाल पहिलेकै सम्झौतामा कुनै पनि हालतमा नबनाउने बरु मुद्दा हाल्ने चेतावनी दिए । ‘नियमअनुसार वाल उठाएको छु, मिस्टेक मबाट भएको छैन । म पनि पढेको मान्छे हुँ । जबर्जस्ती गरे मुद्दा हाल्छु ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

छहरे-कविलास-घलेभन्ज्याङ पिच गर्ने योजनामा असर

सिक्रेमा वाल भत्किएकाले आगामी दुई वर्षभित्र छहरे-कविलास-घलेभन्ज्याङ सडक पिच गर्ने योजनामा समेत असर पुग्नेमा गाउँपालिका चिन्तित देखिएको छ । गाउँपालिका केन्द्र लाकुरीभन्ज्याङ र अस्थायी कार्यालय घलेभन्ज्याङ्सम्म पिच गर्ने गाउँपालिकाको तयारी छ । प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलीले गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बाटो छहरे-कविलास, घलेभन्ज्याङमा दीगो र गुणस्तरीय काम नहुँदा रकम खेर जाने र पूर्वाधार विकासमा आफूहरुले सोचेजस्तो प्रगति नहुने अवस्था आएको बताए ।

उनले पालिकाभित्रका योजनाको रकम पालिकामै दिन पटक पटक माग गर्दा पनि नदिएकोले यस्तो समस्या आएको औंल्याए । भने, ‘बजेट खर्च फरक-फरक निकायबाट हुँदा गाह्रो भइरहेको छ ।’

छहरे-कविलास सडकखण्ड

बाटो अवरुद्ध, वर्खायाममा विकल्प छैन
छहरे-ठाँटीको बीचमा पर्ने सिक्रेमा वाल भत्किएर पञ्‍चकन्या गाउँपालिका कार्यालयबाट काठमाडौं, नुवाकोट सदरमुकाम विदुर आउजाउमा समस्या उत्पन्न भएको छ । वैकल्पिक ट्याक खोल्ने ठाउँ नहुनु र अन्य बाटोसमेत क्षतविक्षत भएकोले अत्यावश्यक रुपमा गाउँपालिका र त्यस क्षेत्रमा ओहोरदोहोर हुने यातायात साधन चल्न सकेको छैन । यातायातका साधन चल्न समस्या त छँदैछ स्थानीयको आवतजावतमा पनि जोखिम निम्तिएको छ ।

गाउँपालिका अध्यक्ष तामाङले भने, ‘गाउँमा पूरै बाटो अवरुद्ध भइसकेको छ । पूर्वाधार विकास कार्यालयलाई पत्र पठाउने कुरा छ । निर्माण कम्पनीको एक वर्ष डीएलबी पीरियड हुन्छ । ठेक्का पूर्वाधारले लगाएको हुनाले उहाँहरुले बनाउन मिल्ने होला । गाउँपालिकाले सिधै गर्न नमिल्ने होला त्यो ।’ त्यस ठाउँमा वैकल्पिक ट्रयाक नभएको र पटक पटक सडक योजनाबाट धेरै खर्च गरिसकेकोले आफूहरुको अनुरोधलाई नमान्दा समस्या आएको अध्यक्ष तामाङले बताए । ‘हिउँदमा आएर तपाईंहरुले स्टिमेट गरेर हुँदैन । हामी यहाँको प्रत्यक्षदर्शी, उपभोक्ता, तारजालीले हुँदैन भन्दा उहाँहरुले मान्नु भएन, ‘प्राविधिकहरुले हामी यसरी गर्छौं । बस्छ भनेर स्टिमेट गर्नु भयो । काम गर्ने व्यवसायीबाट पनि क्वालिटीको काम भएन । समस्या त्यही हो ।’

तीन वर्षदेखि बर्खात्‌को समयमा पनि जिप, मोटरसाइकल, मिनी ट्रक लगायत हलुवा सावरी सदरमुकाम र काठमाडौं ओहोरदोहोर हुने उक्त बाटो अहिले अवरुद्ध छ । उक्त मोटरबाटो अवरुद्ध हुँदा वडा नं ३ घलेभन्ज्याङमा रहेको गाउँपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पञ्‍चकन्याका अधिकारी र सेवाग्राही बढी मारमा परेका छन् ।

काठमाडौंबाट गुर्जे, छहरे, कविलास हुँदै गाउँपालिका कार्यालय घलेभन्ज्याङसम्म पुग्न झन्डै ४५ किलोमिटर दुरी पर्छ ।

सम्बन्धित समाचार

नुवाकोटको छहरे-कविलास-घलेभञ्‍ज्याङ सडकखण्ड स्तरोन्‍नति अन्तिम चरणमा

प्रतिक्रिया दिनुहोस्