सन्तोष साह उपविजेता बने बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा



लन्डन पुस ३ । नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा उपविजेता बन्‍न सफल भएका छन् ।

संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धामा ‘ग्रयाण्ड फिनाले’ सम्म पुगेका नेपालका सन्तोष उपविजेता बने । बीबीसी वानमा प्रसारित बिहीबार बेलुकाको अन्तिम प्रतिस्पर्धामा सन्तोष प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए । खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ’ऐला’ पनि सर्भ गरेका थिए ।

संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषले फाइनलसम्मको प्रभावशाली यात्रा तय गरे । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोषले देश विदेशका लाखौं नेपालीको मन जितेका छन् ।

सानै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन् । यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि मेसिलिन स्टार रेष्टुरेन्टहरुसम्ममा कामको अनुभव लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्