साहित्य भावनामा फुल्दछ, फुलाइन्छ र सजाइन्छ : लालसुन्दर राई



भनिन्छ, साहित्य समाजको ऐना हो । साहित्यमा समाजभित्रका, देश विदेशका कुरा अनि आफ्नो व्यक्तिगत अन्तरात्माका अनुभूतिहरु पनि छर्लङ्ग देख्न र देखाउन सकिन्छ । यसपटक हामीले यस्तो व्यक्तिसँग कुरा गरेका छौं कि साहित्यमा के कसरी होमिन पुग्नु भयो, साहित्यलाई कसरी अँगालीराख्नु भएको छ ? यतिमा मात्रै केन्द्रित नभई थुप्रै विषयमा कुराकानी हुनेछ । नामजस्तो सुन्दर उस्तै मन पनि सुन्दर भएका व्यक्तित्व जो लामो समयदेखि गीतकार, कविका रुपमा परिचित तथा अहिले विश्व नेपाली साहित्य महासंघ दक्षिण पश्चिम शाखाका अध्यक्ष रहनु भएका लालसुन्दर राईसँग गोमा रानाले गर्नुभएको वार्तालाप ।

१. तपाईंको छोटो परिचय दिनुहोस् न ।
सामातुँ गाउँ, जिल्ला दिक्तेल-खोटाङवासी तर जमूना टोल धरान हुँदै काठमाण्डु र हाल बेलायतस्थित स्वीन्डनमा छौं । ईश्वरको अनुग्रहमा अहिलेसम्म Covid 19 विश्वउघ्र कोरोनाले बोनस दिएको जिन्दगी भोगेर बाँचिरहेको छु ।

२. साहित्यमा कसरी लाग्नु भयो ? तपाईंलाई के कुराले साहित्यप्रति प्रेरित गरायो ?
हरियाली गाउँ, पाखापखेरामा जन्मी गाउँकै खोलानाला, झरनामुनी शैसब्ता पोती हुर्कन पाउनु शौभाग्यशाली जीवन हो । जहाँ स्वर्गै सजाएर रमाउने भावनामा जिउने कल्पनाभित्र वास्तविक यापन भने अभागीले गुमाउनु र गरिबले संघर्षमा पौडी जीवनको गन्तव्यतिर लम्कने प्रयत्न नै प्रेरणाका श्रोत थिए क्यार !

३. साहित्य के हो तपाईंको परिभाषामा ?
आफ्नो मौलिक भाषामा जीवन्त भावना उनिएका लेखन वा प्रस्तुत पर्दापणबाट फक्रिएका हजारौं थुङ्गाहरू झुम्मिने फूलबारी साहित्य हो जस्तो लाग्छ ।

४. कस्तो अवस्थामा तपाईंलाई लेख्न अथवा तपाईंको भावना फुर्छ ?
चक्षु संमुख प्रकृति उदाई जिस्की दिँदा, मिलन बिछोडका सन्ध्या र बिहानी उषा बादलको घूम्टोभित्र मुहार छिपाएर बिलीन हुँदाका मार्मिक मर्म र छहरा पहरापखेरू तालमा आमाको अमेट मुहार उदाई न्यानो ममताको वक्षको स्वर्गीय सुखद् अनुभूतिभित्र रमाई परम् आनन्दमा तैरिएर बाँचिरहँदाका थोरै पलहरूमै केही त फुरेका थिए क्यार !

५. बेलायतमा अहिले विनेसामको दोस्रो पटकको पनि अध्यक्ष हुनुहुन्छ । विनेसामको स्थापना कहिले भएको हो ?
बिश्व नेपाली साहित्य (विनेसाम) पश्चिमा शाखा, ४ मे महिना २०१८ मा मेरै अध्यक्षतामा स्थापना भएको थियो ।

६. यो संस्था स्थापना गर्नुको मुख्य उद्देश्य के हो ?
साहित्य भावनामा फुल्दछ, फुलाइन्छ र सजाइन्छ । यही हो यो संस्थाको सानो उद्देश्य । विशेषगरी भावनामै कथा उनिन्छ र फूलहरू फुलाइन्छ प्रवासमा पनि । दार्जिलिङ पहाडकी रानी हाम्रो नेपालको भूमि थियो । तर हाम्रो र हाम्राहरू प्रवास र प्रवासी बिखण्डको अनुभूतिमा प्रस्फुटित गीत तत्कालीन राजा महेन्द्रको भ्रमणको अवसरमा स्वर्गीय अम्बर गुरूङको कहिल्यै बिलीन भई नअन्तिने गीतः
नौ लाख तारा उदाए
प्रस्तुत हुँदा तत्कालीन मौसुफ महेन्द्रको छाति छियाछिया भएको थियो सायद ।
दार्जिलिङ प्रवासीहरूका क्रन्दन तर आज त्यही मार्मिक रोदन, बेलायती प्रवासीको जीवन्त वर्तमान बनेको छ बेलायतमा । यहाँ राख्न चाहें जुन गीतमा बिश्वभरिको प्रवासीहरूका रोदन प्रस्फुटन भएको हुन्छ ।

हो…….
नौलाख तारा उदाए
धर्तीको अकाश हाँसेछ
शरद लाग्यो वनमा
फूलले प्रिती गाँसेछ
नजली यहाँ झिलीली
मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा
मनको फूल निभेछ
नसम्झ आज (गोर्खाली) नेपाली
सञ्चोले यहाँ बाँचेको
काँडाको माझ पहाडको
छैन र कहाँ हाँसेको
सुनको सपना आँसुमा
किन हो बाँधी ल्यायौ नि
घरको माया बिर्सेर
किन पो यहाँ आयौ नि

मुटुमा रगत एउटै हो
पीरको बह बेग्लैछ
हामीलाई यहाँ चिन्यौ कि मनको चोट बेग्लैछ
नियाली हेर (गोर्खा) हामीलाई
भिजेको छैन परेला
आँसुले गह भिजाए
अरूले निर्ध सम्झेला
बुझ्छ र कल्ले रोएको
मुटुमा काँडा बिझेर
अरूको माझ हाँसेको
आँसुका घुट्का पिएर
पहाडी फूल नफक्री
किन हो चुँडी ल्यायो नि
मनको आगो निभाउन
किन पो यहाँ आयौ नि
हो…

रूनु हाँस्नु नै जीवन हो तर क्रूर राणा शासकद्वारा बगाइएको नालामा अझै बही प्रवासी बन्नुको भोगाई हाम्रो पनि मर्म हो । यस्तै भावनाहरू बिसाई आदान प्रदान गर्ने यो संस्थाको उद्देश्य हो भन्न अत्युक्ति नहोला ।

७. यस्को बिस्तार गर्न के कस्तो भूमिका खेल्नु भएको छ ?
विश्वभरका विभिन्न देशहरूमा विनेसाम केन्द्रीय समितिअन्तर्गत लगभग २४ शाखाहरू स्थापना भइसकेका छन् । बेलायतभित्र विनेसाम पश्चिमा शाखा र दक्षिण शाखा स्थापित छन् । बेलायतभित्रै अझ १ वा २ शाखा थपिए अवश्यै राम्रो हुने थियो । यो भविष्यको आशा हो ।

८. विनेसामले स्थापनाकालदेखि के के कामहरु गर्‍यो ?
विनेसाम पश्चिमा शाखाको विशेष लक्ष्य भने आन्तरिक त्रैमासिक गोष्ठी सञ्चालन क्रमश: थियो र हुनेछ । यस अलावा कविता र कथासंग्रह पुस्तकहरूका थुप्रै विमोचन जमेर रमाई भव्य सफलता तुल्याइयो। वातावरण साहित्य गोष्ठी प्रतियोगितालगायत साहित्यिक सम्मेलन र थुप्रै प्रतिष्ठित व्यक्तित्वहरुका जन्म दिनको उत्सव वा स्मरण दिवसहरूमा थोरै तर शाखाका सम्पूर्ण मिली उपस्थितिमा रमाएका हुन्थ्यौं । जो हामी आज पनि अविस्मरणीय रूपमा प्रसंगबीच स्मरण गरी रमाउने गर्छौं । साथै परिस्थितिको परिवेशअनुसार भर्चुअल माध्यमद्वारा अस्तिसम्म हामीले विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य र सभ्य रूपमा सम्पन्न गरिरहेका थियौं ।

९. भावी योजनाहरु के के छन त ?
यो साल मार्चमा हुने गोष्ठी नारी अवस्था र नारी दिवस‍ थिम राखी कार्यक्रम सम्पन्न गर्ने र साथै मे महिनामा पारिजातको जन्म दिवस मनाउने अन्तिम निर्णय गरी सम्पन्न गर्नेछौं । त्रैमासिक गोष्ठीहरू ३-३ महिनामा सञ्चालन गर्दै अगाडि बढिरहने छौं भने अर्को २०२२ सालमा पनि प्रतिष्ठित साहित्य नक्षेत्रका जन्म दिवस वा स्मरण दिवसहरू आयोजना गर्दै अन्य विभिन्‍न महत्वपूर्ण कार्यक्रमहरू पूरा गर्ने हाम्रा प्राथमिक कार्यक्रमहरू छन् ।

१०. विनेसाममा आबद्ध हुनका लागि के कस्तो प्रावधान रहेको छ ?
यसका लागि सबैभन्दा महत्वपूर्ण परिचय भेटघाट र उत्सुक महानुभाव जो पनि नि:शुल्कमा प्रवेश हुन सक्नुहुनेछ । सौहार्द स्वागत गर्न हामी तत्पर भइरहेका हुनेछौं । हाम्रो त्रैमासिक गोष्ठी कार्यक्रममा साथीको साथी माध्यम वा सम्पर्कबाट जोडिन सकिने अवगत गराउन चाहन्छु ।

अन्त्यमा मैले नसोधेका र तपाईंले भन्नै पर्ने केही कुरा छुटेका छ्न् भने कृपया भन्नुहोला ।
यस अवसरका लागि आभार व्यक्त गर्दै हाम्रो गाउँ, हाम्रो ठाउँ, पाखा पखेरा नभुलौं भन्न चाहन्छु । साथै हाम्रा सन्तानहरूलाई क, ख, ग र ज्ञ सम्म चिनाऔं । नेपाली भाषा हामी बाजेबजु, बाबाआमा र दाजुदिदीले घरमा १ घण्टा पढाएरै भए पनि गाउँ घर जाँदा अनुवादक नचाहियोस् । जातीय भाषा हराएर नजाओस् । जसको संरक्षक हामी आफैं हौं । जातीय भाषा हराए, परिचय बिलिन हुन्छ । बिना चिनारी अस्तित्व मासिन्छ। कदापी यसो हुन नजाओस् ।
भुलेर भूल्न नमिल्ने, यति मीठो प्रश्नहरू सोधी दिनुभयो अन्तरात्मादेखि नै स्नेही बहिनी गोमा रानाप्रति आभार साथ धन्यवाद टक्र्याउँछु ।

प्रतिक्रिया दिनुहोस्