एसईई नतिजापछि शिवपुरीमा किशोरी मृत फेला, अनुसन्धान जारी
नुवाकोट,बैशाख २९ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ चैजुकी एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । अन्दाजी १७ वर्षीया शर्मिला तामाङ हिजो बेलुकी घर नजिकै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि उक्त घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । नतिजामा असफल भएका कारण घटना भएको हुनसक्ने अनुमान गरिए पनि त्यसको आधिकारिक पुष्टि भने भइनसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने तथा शव व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

