कालीगण्डकीमा डुबेर दुई जनाको मृत्यु



पाल्पा, असार ६ — कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

बिहीबार साँझ बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहा डुबेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त खोजी अभियानपछि शुक्रबार नदीको तल्लो भागबाट दुवै जनाको शव फेला परेको हो। शिशिरको शव घटनास्थल नजिकै र पुजनको शव टिपुवाघाट क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ।नदीको पानी धमिलो भएका कारण खोजी कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ। दुवै जनाको मृत्युले स्थानीय क्षेत्रमा शोक छाएको छ।

कालीगण्डकी नदीको उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढी हुने गरेको र यस्ता दुर्घटनाबाट ज्यान गुमाउने घटना दोहोरिने भएकाले आवश्यक सुरक्षा व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्