तादी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, जनसरोकारका विषयमा अध्यक्षद्वारा प्रत्यक्ष जवाफ



नुवाकोट, असार ७ – तादी गाउँपालिकाले सुशासन अभिवृद्धि, सामाजिक उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहितालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको छ।

गाउँपालिका तथा वडा कार्यालयहरूबाट सम्पादित कार्य, प्रवाह गरिएका सेवा–सुविधा, विकास निर्माणका गतिविधि तथा नागरिकका गुनासा, सुझाव र जनसरोकारका विषय संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षता रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष सन्जु प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत सुजन शुभ भ्लोन, सबै वडाका वडा अध्यक्ष, प्रवक्ता शर्मिला उप्रेती खनाल, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँसभा सदस्य, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

सुनुवाइका क्रममा सहभागीहरूले विकास निर्माण, सेवा प्रवाह, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा अन्य जनसरोकारका विविध विषयमा प्रश्न, गुनासा र सुझाव प्रस्तुत गरेका थिए। उठाइएका विषयमा गाउँपालिका अध्यक्ष तामाङले प्रत्यक्ष रूपमा जवाफ दिँदै आवश्यक स्पष्टता, प्रतिबद्धता तथा समाधानका उपायबारे जानकारी गराएका थिए।

कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म तादी गाउँपालिकाले गरेका कार्य तथा उपलब्धिहरूको सार्वजनिक जानकारीसमेत प्रस्तुत गरिएको थियो। सार्वजनिक सुनुवाइले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्