कोशीसहित चार प्रदेशमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



काठमाडौँ, असार ७ — जल तथा मौसम विज्ञान विभागले हाल देशका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार विशेषगरी कोशी प्रदेशका केही स्थानमा मनसुन सक्रिय रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

विभागले आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमानअनुसार सोमबार र मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बदली रहनेछ। सोमबार मधेस, बागमती र गण्डकी प्रदेश तथा मङ्गलबार मधेस प्रदेशका केही क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

यस्तै, सोमबार र मङ्गलबार लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको विभागले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तातो दिन रहने अनुमान गरिएको छ।

विभागले वर्षा र गर्मी दुवैको सम्भावनालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्