सुर्खेतमा पक्राउ परेका पौडेललाई नेपालगञ्ज लगियो
सुर्खेत,असार ८ । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ।
सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले सोमबार साँझ वीरेन्द्रनगरस्थित शुभ होटलबाट पौडेललाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे भइरहेको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
एमालेले हाल देशभर पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलमै प्रहरीले पक्राउ गरेको जनाइएको छ।
पक्राउपछि उनलाई थप अनुसन्धानका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।

