१८ अस्पतालमा जलन उपचार वार्ड, सेवा विस्तारमा सरकारको पहल



काठमाडौं,असार ८ । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने लक्ष्यअनुसार देशभरका अस्पतालमा जलन उपचार सेवा विस्तार गर्न थालेको छ। सरकारको १०० दिनभित्र कार्यान्वयन गर्ने १०० बुँदे प्रतिबद्धताअन्तर्गत अधिकांश अस्पतालमा जलन उपचार युनिट स्थापना तथा सेवा सञ्चालनको काम अघि बढाइएको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मन्त्रालयको पहलमा १४ वटा सङ्घीय अस्पतालमा जलन उपचार युनिट स्थापना गरिएको छ। त्यस्तै, चार प्रादेशिक अस्पतालमा समेत शय्या छुट्याएर सेवा प्रवाह सुरु भइसकेको छ।

हालसम्म १०९ जना स्वास्थ्यकर्मीलाई एकदिने तथा २१७ जनालाई छदिने विशेष जलन उपचार तालिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ। कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अस्पतालमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरिएको छ।

यस्तै, कीर्तिपुर अस्पतालमा गैरसरकारी स्तरबाट विशेष जलन उपचार युनिट सञ्चालनमा रहेको छ भने धौलागिरी प्रादेशिक अस्पताल, सङ्खुवासभा जिल्ला अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत जलन उपचार वार्डको व्यवस्था गरिएको छ।

प्रवक्ता अधिकारीका अनुसार जलनका बिरामीलाई प्लास्टिक शल्यक्रियालगायत अन्य जटिल उपचारको आवश्यकता पर्ने भएकाले छुट्टै अस्पतालभन्दा सुविधा सम्पन्न अस्पतालभित्र जलन उपचार युनिट स्थापना गर्नु बढी प्रभावकारी देखिएको हो। सरकारले प्रदेशस्तरमा सुविधा सम्पन्न जलन उपचार केन्द्रको अभावका कारण बढ्दै गएको मृत्युदर, अपाङ्गता तथा दीर्घकालीन पुनःस्थापनासम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले यो कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्