“कोलनी जान्छु” भन्दै बिहानै घरबाट निस्किएका नुवाकोटका खतिवडा शुभघाटमा मृत फेला
नुवाकोट, असार ९ — नुवाकोटको विदुर नगरपालिका–१० शुभघाटमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। स्थानीय ५६ वर्षीय उद्वव खतिवडा मंगलबार बिहान घरबाट मोटरसाइकल लिएर निस्किएको केही घण्टापछि मृत अवस्थामा भेटिएका हुन्। खतिवडा नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत थिए ।
प्रहरीका अनुसार खतिवडा मंगलबार बिहान करिब ४:२५ बजे “कोलनी जान्छु” भन्दै प्र.३–०२–०१० प ५८५६ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्किएका थिए। तर बिहान करिब १०:३० बजे घरदेखि करिब एक किलोमिटर पश्चिम शुभघाटस्थित जस्ताले छाएको ट्रसको फलामे पाइपमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो।
घटनाबारे सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट सिमुटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमै खतिवडाले प्रयोग गरेको मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थल अस्थायी प्रहरी पोस्ट सिमुटारबाट करिब १.५ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्दछ।
खतिवडाले आत्मघाती कदम चाल्नुको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने शवको कानुनी प्रक्रिया पूरा गरी आवश्यक परीक्षणका लागि पठाइने तयारी गरिएको छ।

