कोशीमा भारी वर्षाको चेतावनी, ३–४ दिनभित्र देशभर मनसुन फैलिने



काठमाडौं, असार १४ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदेखि चार दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने जनाएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकीका केही र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुन सक्रिय छ।

महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तराईका केही भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ भने मधेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशीका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र मधेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनीका तराई क्षेत्र तथा मधेशका केही स्थानमा हुरी चल्न सक्ने भएकाले तथा भारी वर्षा हुने क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्