रेबिज खोप अभाव हटाउन थप ४,५०० भायल आइतबार आइपुग्ने
काठमाडौं, असार १४ – अन्तर्राष्ट्रिय आपूर्ति अवरोध, लामो खरिद प्रक्रिया र विश्वव्यापी परिस्थितिका कारण रेबिजविरुद्धको खोप व्यवस्थापनमा चुनौती देखिएको स्वास्थ्यसेवा विभागले जनाएको छ।
महानिर्देशक डा. अनुज भट्टचनका अनुसार हाल १० हजार भायल खोप मौज्दात छ भने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा भारतबाट थप ४,५०० भायल खोप आइतबार नेपाल आइपुग्नेछ। नियमित खरिद प्रक्रियाअन्तर्गत १६ असारमा टेन्डर खोलिने र त्यसपछि थप आपूर्ति गरिने जानकारी दिइएको छ।
स्वास्थ्य मन्त्रालयले देशभर खोप पूर्ण रूपमा अभाव नभएको स्पष्ट पार्दै केही स्थानमा वितरण व्यवस्थापनमा चुनौती रहे पनि सेवा नरोकिएको जनाएको छ। बर्खायाममा जनावरको टोकाइका घटना बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन र समयमै खोप लगाउन पनि आग्रह गरिएको छ।

