प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित



काठमाडौं,असार १० । संघीय संसद सचिवालयले भोलि बिहीबार बस्ने तय भएको प्रतिनिधिसभा बैठक स्थगित गरेको छ।

सचिवालयले विशेष कारण देखाउँदै बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सभामुख डोलप्रसाद अर्याल ले बैठक पर्सि शुक्रबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्।

सचिवालयले स्थगनको कारण ‘विशेष कारण’ मात्र उल्लेख गरे पनि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनका कारण बैठक सारिएको बताइएको छ।

महाधिवेशनमा रास्वपाका अधिकांश सांसद तथा मन्त्रीहरू सहभागी छन्। आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबारभित्र सम्पन्न गर्ने योजना रहे पनि नेतृत्व चयन प्रक्रिया अझै नसकिएकाले कार्यक्रम लम्बिएको छ। त्यसकै प्रभाव संसद बैठकको कार्यतालिकामा समेत परेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्