बर्खायाममा राजमार्ग खुला राख्न पहिरो हटाउने उपकरण तैनाथ



सुर्खेत, असार २२ – बर्खायाममा पहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुन नदिन सडक डिभिजन कार्यालयले विभिन्न संवेदनशील स्थानमा पहिरो हटाउने उपकरण तैनाथ गरेको छ।

कार्यालयले सुर्खेत–जुम्ला कर्णाली राजमार्ग, सुर्खेत–डोल्पा भेरी कोरिडोर, कोहलपुर–सुर्खेत तथा सुर्खेत–दैलेख सडकका विभिन्न नाकामा जेसिबी र लोडर तयारी अवस्थामा राखेको जनाएको छ। सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर रूपेश केसीका अनुसार कर्णाली राजमार्गका लागि तल्लो डुङ्गेश्वर र राकम, सुर्खेत–दैलेख सडकका लागि तालपोखरी तथा भेरी कोरिडोरका लागि बोटेचौर र छिन्चुमा उपकरण तैनाथ गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध भएको सूचना प्राप्त भएको बढीमा दुईदेखि तीन घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित उपकरण तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो।

कार्यालयका अनुसार असोजसम्म जोखिमयुक्त स्थानमा उपकरण राखिनेछ। साथै आवश्यकता परे नजिकका स्थानीय तहसँग रहेका उपकरणसमेत समन्वय गरी प्रयोग गरिनेछ। यस वर्ष असारको तेस्रो सातासम्म ठूलो पहिरो निम्त्याउने खालको वर्षा नभएकाले हालसम्म कुनै पनि प्रमुख सडक अवरुद्ध भएको छैन। कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालीकोट खण्डका पादुका, राकम, दहीखोला र सुनारखोला क्षेत्रमा प्रायः पहिरो जाने गर्छ। त्यसैगरी सुर्खेत–दैलेख सडकको रानीमत्ता, माथिल्लो डुङ्गेश्वर, गुराँसे तथा कोहलपुर–सुर्खेत सडकको हर्रे र देउराली क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्