सरकारद्वारा राहत प्याकेज घोषणा



काठमाडौँ, वैशाख-१९ । सरकारले कोरोना भाइरस ( कोभिड–१९ ) को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई स्थानीय स्तरमा विकास निर्माणका कार्यमा लगाइने भएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित उद्योग, व्यवसाय, क्षेत्र र आम नागरिकका लागि सरकारले तत्कालीन राहतका विभिन्न कार्यक्रम ल्याएको जानकारी दिएका छन् । प्रवक्ता डा. खतिवडाका अनुसार सरकारले सार्वजनिक खरिद (दसौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गरेको छ ।

२०७६ साल जेठ २३ पछि २०७७ वैशाख १४ सम्म ठेक्का सम्झौता भई काम अगाडि बढेका तर सम्पन्न हुन नसकेका आयोजनालाई एक वर्षसम्म सम्झौता विस्तार गर्न सकिनेगरी नियमावलीमा संशोधन गरिएको छ । त्यस्ता आयोजनाले २१ दिनभित्र म्याद थपको निवेदन दिएका आयोजनाको कार्यप्रगतिको आधारमा एक वर्षको सम्झौता विस्तार गर्न सकिने जनाइएको छ । श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापन सहज बनाउनसमेत सरकारले राहत प्याकेज घोषणा गरेको छ । यस्तै उद्योग व्यवसायको संरक्षणका लागि सरकारले यसअघि कार्यान्वयन गरेको राहत, करछुट तथा सुविधालाई लकडाउनको अवधि बढ्दै गएकाले पुनरावलोकनसहित थप कार्यक्रम घोषणा गरेको छ । यसअघि चैत १६ मा सरकारले प्रारम्भिक राहत प्याकेज घोषणा गरेको थियो ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्