राखेपका कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त



काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ ।
युवा तथा खेलकूद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका प्रमुख रहनुभएका ढकाललाई आइतबारको मन्त्रीस्तरीय निर्णयानुसार सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।

राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९१२० बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी ढकाललाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । नयाँ खेलकूद विकास ऐन बिहीबारदेखि लागू भएको थियो । खेलकूद विकास ऐन, २०४८ निष्कृय भएसँगै राखेपमा सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । नयाँ ऐनमा सदस्य–सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

समितिले योग्यता पुगेका व्यक्तिबाट सदस्य–सचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्