इन्धनमा १/१ रुपैयाँ भाउ वृद्धि, विरोधमा नेविसंघको प्रदर्शन



काठमाडौं २८ असार । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरे । सङ्घले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

यस्तै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग गरेको छ । यसअघि सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको थियो ।

नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँमा किनबेच भइरहेको निगमका प्रवक्ता बिनितमणी उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्