शिवपुरी गाउँपालिकाद्वारा झन्डै सय कृषकलाई मौरीघार वितरण



साझा पथ संवाददाता
नुवाकोट ३१ असार । जिल्लाको शिवपुरी गाउँपालिकाले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ ।

गाउँ कार्यपालिकाको कार्यालय शेराबगरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष रामकृष्ण थापाले कृषकहरुलाई मौरीघार वितरण गरेका हुन् । ‘गत वर्षहरु झैं व्यावसायिक किसानहरुलाई ५० प्रतिशत अनुदानमा हामीले मौरीघार वितरण गरेका हौं’, गाउँपालिकाकी उपाध्यक्ष मन्जु केसीले साझा पथलाई जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाका वडाहरुबाट प्रतिनिधित्वको हिसाबमै कृषकहरुले मौरीघार पाएका छन् ।

गत वर्ष प्रतिकृषक २/३ वटा घार वितरण गरिएको थियो । तर, अपुग भएको भन्दै थप गर्न माग गरेपछि यसपटक प्रतिव्यक्ति ५ थान भन्दामाथि मौरीघार वितरण गरिएको उपाध्यक्ष केसीले बताइन् । मौरीघार गाउँपालिकाले सूचना जारी गरेर छनौटमा परेका कृषकलाई मात्र वितरण गरेको उनले प्रस्ट पारिन् ।

यस वर्ष करिब सय किसानलाई वितरण गरिएको छ भने पोहोर ६०/७० जनाले मौरीघार गाउँपालिकाबाट अनुदानमा लिएका थिए ।

उपाध्यक्ष केसीले गत वर्षको वितरण गरिएको मौरीघारबाट किसान लाभान्वित भएको र गाउँपालिकाको कार्यक्रम प्रभावकारी भएकैले यसपटक संख्या वृद्धि गरेको बताइन् । शिवपुरी गाउँपालिका माहुरीको व्यावसायिक पालनका लागि उर्वरभूमि रहेको उनको भनाइ छ । प्रति मौरीघारको ४ हजारदेखि ४५ सय रुपैयाँ पर्दछ । जसमा गाउँपालिका र कृषकले आधा/आधा रकम व्यहोर्नु पर्छ ।

कृषकलाई मौरीघार वितरण गर्दै मंगलबार शिवपुरी गाउँपालिका नुवाकोटका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसी लगायत । तस्बिर सौजन्य : शिवपुरी गाउँपालिका

प्रतिक्रिया दिनुहोस्